कला/साहित्य

सीता परियार र प्रकाश सपुतको नयाँ गीत ‘सकुनी पासा’ सार्वजनिक

गायिका सीता परियार र गायक ईश्वर सिंहको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘सकुनी पासा’ सार्वजनिक भएको छ। चर्चित लोकगायक प्रकाश सपुत र मोडल देवी गर्बुजा मगरको अभिनय रहेको यो गीत शुक्रबार सीता परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको शब्द अर्जुन सुवेदीले लेखेका छन् भने संगीत संयोजन तथा कम्पोज ईश्वर सिंहले गरेका हुन्।

‘सकुनी पासा’ले समाजमा देखिएका छल, कपट र नाटकलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ। गीतको लयमा परम्परागत र आधुनिक दुवै स्वाद मिसाइएको छ। प्रकाश सपुत र देवी गर्बुजाको अभिनयले गीतलाई अझै आकर्षक बनाएको छ।

निर्माण पक्षका अनुसार गीतमा जीवनका उतारचढाव र नियतिको खेल (पासा)लाई रूपकमार्फत प्रस्तुत गरिएको छ।

सीता परियारले विगतमा दर्जनौँ लोक तथा आधुनिक गीत सार्वजनिक गरिसकेकी छन्। यस पटक उनले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत दर्शकसमक्ष ‘सकुनी पासा’ ल्याएकी हुन्।

प्रकाशित: १४ भाद्र २०८२ ०८:३८ शनिबार