गान्तोक, सिक्किममा सिक्किम अकादेमीको आयोजनामा सिक्किम–नेपाल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ।
सिक्किम अकादेमीका अध्यक्ष प्रविण राई ‘जुमेली’ द्वारा नेपालबाट उपस्थित अनलाइन अभिलेख प्रतिनिधिहरू डा. पुरण राई, आनन्द राई तथा प्रकाश राईलाई परम्परागत खादा ओढाएर स्वागत गर्दै कार्यक्रम प्रारम्भ गरिएको थियो।
कार्यक्रममा सिक्किम अकादेमीका तर्फबाट भाषा तथा साहित्य सचिव प्रद्युम्न श्रेष्ठ र नेपालका तर्फबाट अनलाइन अभिलेखका प्रमुख सल्लाहकार साहित्यकार तथा समालोचक डा. पुरण राईले मन्तव्य राखेका थिए।
सिक्किम–नेपाल साहित्यिक भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अनलाइन अभिलेखले सिक्किमका दुई वरिष्ठ साहित्यकार वीरभद्र कार्कीढोली र मदनकुमार राईलाई अभिनन्दन गरेको थियो। उनीहरूले दीर्घ साहित्यक साधनाबाट साहित्यमा पुर्याउँदै आएको योगदान मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान पत्र र शिरशोभा समर्पण गरी अनलाइन अभिलेख सम्मान प्रदान गरिएको थियो।

नेपालका तर्फबाट बोल्दै डा. पुरण राईले नेपाली साहित्यको पूर्णतामा सिक्किम साहित्यको महत्त्वपूर्ण हिस्सा रहेको र सिक्किम साहित्यको पूर्णतामा पनि नेपाली साहित्यको महत्त्वपूर्ण हिस्सा रहेको भन्दै यही धरातलमा रहेर दुई साहित्यकारलाई सम्मानित गरिएको बताए। उनले चार वर्षदेखि हरेक वर्ष साहित्यिक भ्रमणको सिलसिलामा नेपालको विभिन्न ठाउँ लगायत हङ्कङमा पनि यस्तो सम्मान समर्पण गरिएको जनाए। यसका साथै डा. राईले अनलाइन अभिलेख साझा अनलाइन पुस्तक हो भन्दै यसमा विश्वका जुनसुकै स्थानमा रहेका व्यक्तिहरू आफैँले आफ्ना जीवनी, अनुसन्धान, साहित्य, संस्कृति, वंशावली, मिथक, इतिहास, पर्याटन, कृषि, सूचना आदिको अभिलेख प्रकाशन गर्न सकिने पनि बताए।
सिक्किमका कवि प्रवीण खालिङ चलाएकाे यस कार्यक्रममा नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, पूर्व सचिव प्रताव प्रधानका साथै विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरू, वरिष्ठ कवि तथा साहित्यकारहरू, समाजसेवी, संगीतकार, पत्रकार लगायतका उपस्थिति थिए।
यस कार्यक्रममा कविहरू राधा पाण्डे, टि.बी. चन्द्र सुब्बा, अविगेल राई, रुपा तामाङ, सूचन प्रधान, दावा योञ्जन, अम्बर गुरुङ ‘लाछिकाठी’ मनोरथ दाहाल, पूजा क्षेत्री, विश्वजीत बास्कोटा, ताम्लिङ सरोजनी सुब्बा, जीविका अश्रु, मणिका शर्मा, भीम रावत तथा योञ्जना कार्की गरी १५ कविले कविता प्रस्तुत गरेका थिए। यी १५ कविको कविता प्रस्तुतले सिक्किम–नेपाल साहित्यिक भेटघाट कार्यक्रमलाई अझ सौहार्दपूर्ण, स्मरणीय तथा आत्मीय बनाएको थियो।
प्रकाशित: २७ जेष्ठ २०८३ १४:२३ बुधबार


-600x400.jpg)
