वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह दशकपछि निर्देशनमा फर्केका छन्। उनको निर्देशनमा रहेको चलचित्र ‘कमला मिस’ को छायांकन सकिएको छ।
गत फागुन एक गतेदेखि सुरु भएको छायांकन मंगलबार सकिएको हो। चलचित्रको छायांकन निर्धारित समयमा पुरा भएको निर्माण पक्षले जनाएको छ। छायांकन निर्वाचनको कारण तीन दिन स्थगित गर्दा पनि यसले २३ दिनमा आफ्नो छायांकन सकाएको छ।
उक्त चलचित्रलाई मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ। मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’मा निर्देशक नीर शाहसहित रमेश बुढाथोकी ,वासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतीमा बन्ने चलचित्रमा कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान छन्। लाइन प्रोड्युसरमा पुष्कर लामा (प्रेम भोम्जन)छन्। कथा विजय मल्लको हो भने पटकथामा संवाद निर्देशक शाह, प्रजल दुलाल र सुगम दुलाल रहेका छन्।
प्राविधिक पक्षमा छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल र नृत्य निर्देशन रामजी लामिछानेले गर्नेछन्। निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुवेदीले सम्हालेका छन्।
प्रकाशित: २७ फाल्गुन २०८२ १२:५७ बुधबार