कला/साहित्य

एकाएक किन विवादमा आए साहरुख खान ? के थियो कारण ?

विमल इलायची विज्ञापन विवादमा शाहरुखको पुरानो बयान फेरि चर्चामा आएको छ। भारतको महाराष्ट्र फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले विमल इलायची पान मसालाको विज्ञापनलाई लिएर बलिउड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्रफलाई कारण देखाऊ नोटिस जारी गरेको छ। एफडीएको आरोप अनुसार ‘विमल इलायची’को विज्ञापनमार्फत महाराष्ट्रमा प्रतिबन्धित ‘विमल पान मसाला’को अप्रत्यक्ष प्रचार भइरहेको छ।

उक्त घटनापछि स्वास्थ्यका लागि हानिकारक मानिने उत्पादनको विज्ञापनमा कलाकारको भूमिकालाई लिएर शाहरुख खान र अजय देवगनका पुराना भनाइहरू फेरि चर्चामा आएका छन्। दुवै कलाकारले यसअघि नै कुनै उत्पादन स्वास्थ्यका लागि हानिकारक भए त्यसको उत्पादन र बिक्रीमै रोक लगाउनुपर्ने बताएका थिए।

पुरानो एक अन्तर्वार्तामा शाहरुख खानलाई चुरोट तथा सफ्ट ड्रिंक्सजस्ता उत्पादनको विज्ञापनमा सेलिब्रेटीको भूमिकाबारे प्रश्न गरिएको थियो। जवाफमा उनले यदि कुनै उत्पादन वास्तवमै हानिकारक छ भने सरकारले त्यसको उत्पादन र बिक्री नै रोक्नुपर्ने तर्क गरेका थिए।

उनले सरकारलाई त्यस्ता उत्पादनबाट राजस्व प्राप्त हुने भएकाले उत्पादन बन्द नगर्ने तर कलाकारलाई विज्ञापन नगर्न दबाब दिनु उचित नभएको बताएका थिए। आफू कलाकार भएको र आफ्नो काममार्फत कमाउनु आफ्नो पेशा भएको उनको भनाइ थियो।

सन् २०२२ मा पनि विमलको विज्ञापनलाई लिएर विवाद भएपछि अजय देवगनले आफूले ‘इलायची’को मात्रै विज्ञापन गर्ने बताएका थिए। उनले सरोगेट विज्ञापन गरेको आरोप अस्वीकार गर्दै कुनै उत्पादन प्रयोग गर्ने वा नगर्ने विषय व्यक्तिको व्यक्तिगत रोजाइ भएको बताएका थिए।

अजयले पनि शाहरुखको तर्कसँग सहमति जनाउँदै कुनै उत्पादन स्वास्थ्यका लागि हानिकारक भए त्यसको निर्माणमै रोक लगाउनुपर्ने बताएका थिए।

हालको विवादमा एफडीएले शाहरुख खान, अजय देवगन र टाइगर श्रफसँग विज्ञापनबारे स्पष्टीकरण मागेको छ। उनीहरूले दिएको जवाफका आधारमा आगामी कारबाहीबारे निर्णय हुन सक्नेछ। विवादले सेलिब्रेटीहरूले स्वास्थ्यसँग सम्बन्धित उत्पादनको विज्ञापन गर्दा आफ्नो जिम्मेवारी कति हुनुपर्छ भन्ने बहसलाई समेत पुनः सतहमा ल्याएको छ।

प्रकाशित: १ भाद्र २०८३ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App