कला/साहित्य

दुई जोडी साहित्यकारलाई सयपत्री राष्ट्रिय सम्मान

सयपत्री प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्ने सयपत्री राष्ट्रिय सम्मानद्वारा यस वर्ष लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा दुई जोडी साहित्यकारलाई सम्मान गरेकाे छ।

सम्मानित हुने जोडीमा प्राडा रामप्रसाद दाहाल - धर्मपत्नी चन्दा कोइराला दाहाल र डा. अनन्तप्रसाद अधिकारी - धर्मपत्नी नर्वदा खनाल अधिकारी रहेका छन्।

महाकवि देवकोटा जन्मजयन्तीको अवसरमा सयपत्री राष्ट्रिय सम्मान ०८२ तथा विशेष साहित्यिक कार्यक्रममा सम्मानित जोडीलाई माला, खादा, दोसल्ला, सम्मानपत्र र पाँच हजार एक नगदसहित सम्मान गरिएको थियो।

प्रतिष्ठानले ०५५ सालदेखि हरेक वर्ष साहित्यिक कार्यक्रम गरी राष्ट्रियस्तरका एक र काभ्रेली साहित्यकार एक जोडीलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ।

प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरन्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज शिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मन्जुल, डा. खगेन्द्र लुइटेल, मोदनाथ प्रश्रित, डा. रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, डा. सुरेजराज शर्मा, ज्ञानकाजी मानन्धर, प्राडा अभि, सुवेदी, रामसुन्दर देउजा, प्राडा जीवेन्द्रराज गिरी, प्रभात सापकोटाको दम्पत्तिसहित ७० जनालाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिसकेको छ।

वरिष्ठ साहित्यकार एवं प्रतिष्ठान सल्लाहकार मोहन दुवालको अध्यक्षता र वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा स्रष्टाहरूले कविता पनि वाचेका थिए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापित सयपत्री रामभक्त भुवनदेवी स्मृति छात्रवृति प्रदान गरेका थिए। काभ्रे, जनागालमा अवस्थित जनज्योति माध्यमिक विद्यालयबाट २०८१ को एसइईमा उत्कष्ट अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो।

प्रकाशित: ४ कार्तिक २०८२ १४:२९ मंगलबार