कला/साहित्य

‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ मा ‘सत्यम्’ का कथाकार वियोगी

स्याङ्जाका दहथुम माध्यमिक विद्यालयले ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ गरेको छ।

विद्यार्थीहरूको सिर्जनशील विकासका लागि विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ मा ११ र १२ कक्षाका विद्यार्थी र पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग साहित्यिक अन्तर्क्रिया भएकाे छ।

कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको सिकाइ, ऊर्जा पत्रकारिता तथा पर्यावरणीय लेखन एवं सिर्जनाका विविध पाटाबारे आफ्ना अनुभव सुनाएका थिए।

सिर्जना एवम् सिकाइका लागि खुला र स्वतन्त्र पारिवारिक तथा सामाजिक परिवेश अपरिहार्य रहेको भन्दै उनले त्यस्तो सामाजिक संरचनामा विद्यार्थीको सिर्जनशीलताको प्रचुर विकास हुन सक्ने बताए।

गत जेठमा मात्र वियोगीको १५ कथा सङ्ग्रहीत सत्यम् कथासङ्ग्रह बजारमा आएको छ। उनले पत्रकारितासँगै निबन्ध, नियात्रा, संस्मरण, गीत तथा कवितामा समेत कमल चलाउँदै आएका छन्।

साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा शिक्षक शेषकान्त खनालले स्वागत मन्तव्य राखेका थिए।

त्यस्तै सहायक प्रधानाध्यापक टोलप्रसाद रेग्मीले साहित्यकारसँग हुने यस्ता परामर्श एवम् अनौपचारिक छलफलले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुने बताए।

यस्तै कार्यक्रममा शिक्षकहरू भूपेन कोइराला र बाबुराम बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गिण विकास मनन् गर्दै आउँदाे दिनमा विद्यालयले यस्ता अनौपचारिक कार्यक्रमलाई निरन्तरता दिने बताए।

यसैगरी कार्यक्रममा मौन आवाज निबन्धकृति र सेतो सुनखानीबाबु कविताकृतिका सर्जक एवम् साहित्यकार शम्भु अर्यालले आफ्ना केही सिर्जना वाचन गरेका थिए।

प्रकाशित: २४ आश्विन २०८२ १०:५३ शुक्रबार