कला/साहित्य

सारिकाले आफ्नै शब्द र संगीतमा गाइन् ‘गुन भुल्यौ-साइला दाइ’

सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’ को अपार सफलतापछि ‘गुन भुल्यौ-२ साइला दाइ’ लिएर आएकी छन्। सारिकाकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेकाे छ।

प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ। गीत सार्वजनिक भएको छोटौ समयमै श्रोता/दर्शकको माया बटुल्न सफल भएको छ।

‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’ ले जस्तै ‘गुन भुल्यौ-२ साइला दाइ’ ले पनि सबैको माया पाउनेमा आशावादी रहेको सारिकाले बताइन्।

गीतमा आफूले माया गरेको तथा गुन लगाएको मान्छेले भुल्दै गएको पीडा व्यक्त गरिएको छ। भुलेर जाने मायालाई सारिकाले गीतमार्फत गुनासो गरेकी छन्।

गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशक बिताएकी सारिकाको यो गीतका टिकटक र रिल्समा पनि निकै भिडियो बनिरहेका छन्। गीतको भिडियो सारिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल भएकी छन्। नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाएकी उनले यतिबेला गायिकाका रूपमा आफ्नो पहिचान अग्ल्याएकी छन्।

एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गरेकी उनी तीन दर्जन जति गीतका भिडियोमा पनि देखिएकी छन्। पछिल्लो समय गायिकाका रूपमा ख्याति कमाउँदै गएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन्।

प्रकाशित: २२ चैत्र २०८२ १२:०० आइतबार