अभिनेत्री सनिशा भट्टराईले आफूमाथि पछिल्लो केही महिनादेखि भइरहेको अनलाइन उत्पीडनबारे चेतावनी दिएकी छन्।
उनले आइतबार सामाजिक सञ्जालमा आफूमाथि केही महिनादेखि एक व्यक्तिले विभिन्न आइडीबाट हैरान पारिरहेको उल्लेख गरेकी छन्।
एक व्यक्तिले विभिन्न आइडीबाट आफूसँग जोडिएको समाचार तथा फोटोलगायतका सामाग्रीमा आपत्तिजनक कमेन्ट गर्ने तथा म्यासेज गर्ने गरेको उनले जनाएकी छन्।
‘कोही व्यक्ति मन नपर्नु सामान्य हो आलोचना गर्न पाइन्छ, तर यसरी कसैलाई पछ्याउनु तथा सामाजिक सञ्जालमा आपत्तिजनक म्यासेज, कमेन्ट निरन्तर गरिरहनु स्वीकार्य हुँदैन’, उनले भनेकी छन्, ‘ती व्यक्तिलाई आफूले ब्लक गरे पनि उसले विभिन्न आइडीबाट निरन्तर हैरान पारिरहेको छ।’
सानिशाले अहिलेसम्म सकेसम्म बेवास्ता गर्दै आएको भए पनि अब भने उपलब्ध कमेन्ट, म्यासेज, अकाउन्ट तथा अन्य डिजिटल प्रमाण सुरक्षित राखेर सम्बन्धित साइबर अपराध अनुसन्धान निकायमार्फत कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएकी छन्।
उनले भनेकी छिन्, ‘अबदेखि यस्ता गतिविधि रोकिएमा यो विषय यहीँ समाप्त हुनेछ। अन्यथा, म आफ्नो अधिकार र सुरक्षाका लागि कानुनी बाटो रोज्न बाध्य हुनेछु।’
सानिशाले हैरान पार्ने व्यक्तिको नाम भने उल्लेख गरेकी छैन।
प्रकाशित: २१ भाद्र २०८३ १२:०५ आइतबार