अभिनेत्री सामन्था रुथ प्रभु कृतिम बौधिकता (एआई)को दुरुपयोग तथा डीपफेक सामग्रीविरुद्ध बम्बई उच्च अदालत पुगेकी छन्। उनको याचिकामाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ।
डीपफेक सामग्रीविरुद्ध पछिल्लो समय धेरै कलाकारहरूले अदालतको ढोका ढकढक्याइरहेका छन्। यही क्रममा अभिनेत्री सामन्थाको नाम पनि थपिएको छ। हालै उनले बम्बई उच्च अदालतमा याचिका दायर गरेकी थिइन्। त्यसपछि अदालतले उनको नाम, तस्बिर, आवाज तथा व्यक्तित्वसँग सम्बन्धित विशेषताहरूको अनधिकृत प्रयोग गरी बनाइएका डीपफेक सामग्री हटाउन आदेश दिएको छ।
उच्च अदालतको एकल इजलासले सामन्थाको याचिकामाथि अन्तरिम आदेश जारी गरेको हो। सामन्थाले आफ्नो व्यक्तित्वसम्बन्धी अधिकार (पर्सनालिटी राइट्स) को संरक्षण गर्न माग गरेकी थिइन्।
उनले विभिन्न वेबसाइट तथा सामाजिक सञ्जालमा आफ्नो नाम, तस्बिर, आवाज र व्यक्तित्वसँग सम्बन्धित अन्य विशेषताहरूको कथित रूपमा गलत प्रयोग भइरहेको भन्दै अदालतमा याचिका दायर गरेकी थिइन्। अभिनेत्रीले आफ्नो तस्बिर तथा अन्य सामग्रीलाई परिवर्तन गरेर बनाइएका सामग्री र डीपफेकतर्फ पनि अदालतको ध्यानाकर्षण गराएकी थिइन्।
अदालतले अभिनेत्रीको नाम, तस्बिर र आवाजको अनधिकृत प्रयोग गरी आपत्तिजनक सामग्री प्रकाशित गर्न रोक लगाएको छ।
सामन्थाले एआई को प्रयोग गरेर बनाइएका डीपफेक सामग्रीविरुद्ध पनि आपत्ति जनाएकी थिइन्। यस्ता सामग्रीका कारण आफ्नो व्यक्तित्व तथा अधिकारमा असर परेको उनको भनाइ थियो।
उच्च अदालतले सामन्थाको व्यक्तित्वसम्बन्धी अधिकारहरू उनका मौलिक अधिकारबाट सुरक्षित रहेको जनाएको छ।
यी अधिकारमा बोल्ने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार, व्यक्तिगत स्वतन्त्रताको अधिकार, गोपनीयताको अधिकार र मानवीय मर्यादाको अधिकार समावेश हुने अदालतले उल्लेख गरेको छ।
सामन्थाकी वकिल रश्मिन खांडेकरले अभिनेत्रीका अधिकार उल्लङ्घन भएको विषय अदालतसमक्ष उठाएकी थिइन्।
उनले अभिनेत्रीको तस्बिर परिवर्तन गरेर बनाइएका सामग्री, एआईको प्रयोगबाट उनको आवाज सिर्जना गरिएका सामग्री तथा अश्लील भिडियोहरूबारे अदालतलाई जानकारी गराइन्।
वकिलका अनुसार यस्ता सामग्रीमा अभिनेत्रीलाई आपत्तिजनक रूपमा प्रस्तुत गर्नुका साथै उनलाई वस्तुका रूपमा प्रस्तुत गरिएको थियो।
प्रकाशित: १६ आश्विन २०८३ १२:०६ शुक्रबार