कला/साहित्य

उमेर र तौललाई लिएर ट्रोल भएपछि सलमानको कडा जवाफ, कट्रिनाको पनि बचाउ गरे

‘बिग बोस २०’ का होस्ट बलिउड अभिनेता सलमान खानले आफ्नो उमेर, रूप, कपाल र तौललाई लिएर सामाजिक सञ्जालमा भइरहेका टिप्पणीको जवाफ दिएका छन्।

पछिल्लो ‘वीकेन्ड का वार’ एपिसोडमा उनले ट्रोल गर्नेहरूको सोचमाथि प्रश्न उठाउँदै आफ्नो उपस्थितिमाथि टिप्पणी गर्नेहरूलाई चुनौती दिएका हुन्। प्रतियोगी स्काउटले यसअघि आफ्ना गेमिङ समुदायलाई सलमानले केही गलत भने आलोचना गर्न आग्रह गरेका थिए। यही विषयमा कुरा गर्दै सलमानले सोधे, ‘तपाईं के ट्रोल गर्न चाहनुहुन्छ? अनि किन ट्रोल गर्न चाहनुहुन्छ? सोच के हो?’

आफ्नो तौललाई लिएर भइरहेका टिप्पणीप्रति उनले व्यंग्य गर्दै ‘भाइ मोटा हो गया है। कर लो ना ट्रोल, ये लो’ भने। त्यसपछि उनले टोपी, ज्याकेट र सर्ट हटाउँदै ‘कर लो ट्रोलिङ’ भन्दै आलोचकलाई जवाफ दिए। सलमानले अरूको रूप, तौल र व्यक्तिगत विषयमा टिप्पणी गर्नुअघि आफूलाई हेर्न पनि भने। उनले आफ्नै स्वास्थ्य र परिवारको स्वास्थ्यबारे सोच्न आग्रह गरे।

यसै क्रममा सलमानले अभिनेत्री कट्रिना कैफलाई लिएर भइरहेको सामाजिक सञ्जाल टिप्पणीबारे पनि कुरा गरे। कट्रिना आमा बनेपछि उनको तौल र शरीरलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भइरहेका छन्। सलमानले गर्भावस्थापछि शरीरमा परिवर्तन आउनु सामान्य भएको भन्दै उनको बचाउ गरेका हुन्।

आफ्नो उमेरलाई लिएर भइरहेको ट्रोलिङबारे उनले भने, ‘बुढा होगा, अवश्य ६० साल का होगा।’ उनले आफू सधैँ ‘मैने प्यार किया’ समयकै जस्तो देखिन नसक्ने पनि बताए।

सलमानले सामाजिक सञ्जालबाट मानिसहरूले पैसा कमाइरहेको भए पनि अरूलाई होच्याएर त्यसो गर्नु उचित नभएको बताए। साथै, मानिसको शरीर, तौल, रूप, परिवार र व्यक्तिगत जीवनलाई लिएर टिप्पणी गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन्।

प्रकाशित: ४ आश्विन २०८३ १२:४० आइतबार