बलिउड अभिनेता सलमान खानका कान्छा भाइ एवं अभिनेता सोहेल खानले बाल्यकालमा आफू यौन दुर्व्यवहारको शिकार भएको खुलासा गरेका छन्। हालै एक रियालिटी शो 'एलायन्स' मा उनले आफ्नो जीवनको यो पीडादायी अनुभव साझा गरेका हुन्।
शोको क्रममा साथी प्रतियोगीहरूसँग कुरा गर्दै सोहेलले भने, ‘जब म सानो थिएँ, कसैले मलाई यौन दुर्व्यवहार गर्थ्यो र मैले त्यसलाई वर्षौंसम्म आफ्नो भित्रै दबाएर राखें।’ उनले ठूलो भएपछि मात्र आफ्नो बुबालाई यस घटनाबारे बताएका थिए। बुबाले यति धेरै समयसम्म किन कुरा लुकाएको भनी सोध्दा सोहेलले लाजका कारण आफूले कसैलाई केही नभनेको जवाफ दिएको बताए। उनले यो घटनामा आफ्नो कुनै गल्ती नभए पनि त्यसबेला बोल्न निकै अप्ठ्यारो महसुस भएको भनेका छन्।
सोही शोमा सोहेल आफ्नो परिवारलाई सम्झेर भावुक पनि बने। शोका होस्ट कुणाल खेमुसँग कुरा गर्दै उनले भने, ‘विभिन्न शोमा निर्णायक भएर काम गरे पनि प्रतियोगी बनेर सहभागी हुँदा बल्ल मानसिक र भावनात्मक दबाब कस्तो हुन्छ भन्ने कुरा महसुस गरे।’ उनले ५५ वर्षको उमेरमा आफूले यो शोबाट धेरै नयाँ कुरा सिकेको बताए।
यस कार्यक्रममा उनकी पूर्वपत्नी सीमा सजदेह पनि वाइल्डकार्ड प्रतियोगीको रूपमा सहभागि छिन्। सीमाको प्रवेशपछि दुवैबिच बलियो सम्बन्ध देखिएको छ। सोहेलले सीमाको स्वागत गर्दै भने, ‘मैले यो सुन्दर महिलासँग २५ वर्ष बिताएको छु र हाम्रो सम्बन्धमा भएका कुनै पनि गल्तीको जिम्मेवारी म लिन्छु।’
प्रकाशित: २ श्रावण २०८३ १०:१३ शनिबार