बलिउड अभिनेता सलमान खान आज ६० वर्ष लागेका छन्। उनको जन्मदिन शुक्रबार राति पनवेलस्थित फार्महाउसमा भव्य रूपमा मनाइएको छ।
कालो पहिरनमा देखिएका सलमानले मध्यरातमा फार्महाउस बाहिर केक काटेर उत्सव मनाएका हुन्।
सलमानको ६०औँ जन्मदिनको एक दिनअघि बान्द्रा–वर्ली सागर सेतु उनको परोपकारी संस्था बिइङ ह्युमनको नाममा विशेष उज्यालोले सजाइएको थियो। यो सेतु मुम्बईको सबैभन्दा चर्चित स्थलचिह्नहरू मध्ये एक हो।
सलमानविरुद्धको धम्कीलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले उच्च सतर्कता अपनाएको थियो। मुम्बईको बान्द्रामा रहेको उनको ग्यालेक्सी अपार्टमेन्ट र वरपर प्रहरीको उपस्थिति दोब्बर गरिएको थियो। निगरानीका लागि हेलिकप्टर र ड्रोन पनि तैनाथ गरिएको थियो।
क्रिकेटर महेन्द्र सिंह धोनी आफ्नो परिवारसँग पार्टीमा पुगेका थिए। धोनीकी श्रीमती साक्षी पनि पार्टीमा पुगिन्। जन्मदिन समारोहमा सलमानका आमाबाबु (सलीम खान र सलमा खान) पनि उपस्थित थिए। सलमानकी कान्छी बहिनी अर्पिताका श्रीमान् एवं अभिनेता आयुष शर्मा पार्टीमा पुगेका थिए। सलमानका भाइ एवं अभिनेता अरबाज खान साधारण लुकमा पार्टीमा पुगेका थिए।
अर्का भाइ एवं अभिनेता सोहेल खान पनि जन्मदिनको पार्टीमा पुगेका थिए। सलमानकी बहिनी अलविराकी छोरी अलिजेह अग्निहोत्री पार्टीमा देखिएकी थिइन्। निर्देशक कबीर खान आफ्नी श्रीमती मिनी माथुरसँग पुगेका थिए। अभिनेत्री तब्बु पनि पार्टीमा पुगिन्। गायक मिका सिंह पार्टीमा स्कुटर चढेर पुगेका थिए।
अभिनेत्री हुमा कुरेशी रातो ज्याकेटमा देखिएकी थिइन्। सलमानकी पूर्वप्रेमिका तथा अभिनेत्री संगीता बिजलानी चम्किलो सुनौलो ज्याकेटमा देखिएकी थिइन्। अर्की अभिनेत्री रकुल प्रीत सिंह पति ज्याकी भगनानीसँग पुगेकी थिइन्। पार्टीमा अभिनेता सूरज पंचोली पनि देखिएका थिए।
सलमान खानको आगामी चलचित्र ‘गलवानको युद्ध’ रहेको छ, जुन २०२६ मा प्रदर्शनको तयारीमा छ।
प्रकाशित: १२ पुस २०८२ १४:१८ शनिबार