हालै लन्डनको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री तथा कन्टेन्ट क्रिएटर साहिबा बाली सँगै देखिएका थिए।
त्यसपछि नै उनीहरू डेटिङमा रहेको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। भारत र इंग्ल्यान्डबिचको तेस्रो एकदिवसीय खेल हेर्न रंगशाला पुगेका यी दुईको तस्बिर भाइरल भएपछि फ्यानहरूले उनीहरूले एकअर्कालाई डेट गरिरहेको अनुमान लगाएका थिए।
यसैबिच, फैलिएका यी हल्लाहरूमाथि साहिबाले आफ्ना इन्स्टाग्राम स्टोरीमार्फत रोचक र व्यङ्ग्यात्मक प्रतिक्रिया दिएकी छिन्। उनले सुरुमा क्रिकेटका दिग्गज सुनील गावस्कर र ब्रायन लारासँग उभिएको आफ्नो तस्बिर सेयर गरिन्, जसमा एक प्रयोगकर्ताले उनलाई गलत रूपमा अभिनेत्री अनुष्का शर्मा ठानेका थिए। उक्त पोस्टको क्याप्सनमा उनले लेखिन्, ‘सबै कुरामा विश्वास नगर्नुहोस्... भाग १’।
त्यसपछि उनले अर्जुन कपूरसँगको रंगशालाको अर्को तस्बिर सेयर गर्दै लेखिन्, ‘सबै कुरामा विश्वास नगर... भाग २’। यसअघि पनि साहिबाले अर्जुनलाई जन्मदिनको शुभकामना दिँदै ‘सबका बेस्टीलाई शुभकामना, थप तौल घटाउन बन्द गर, केही केक खाउ’ भनेकी थिइन् र अर्जुनले पनि ‘तिमी पनि मसँग सामेल हुन्छ्यौ भनेर पर्खिरहेको छु’ भन्दै प्रतिक्रिया दिएका थिए। हाल भने यी दुवैतर्फबाट डेटिङको सम्बन्धमा कुनै पनि औपचारिक पुष्टि गरिएको छैन।
साहिबा बाली एक अभिनेत्री, कन्टेन्ट क्रिएटर र पूर्व मार्केटिङ पेसाकर्मी हुन्। सन् १९९४ मा कश्मीरी परिवारमा जन्मिएकी साहिबाले दिल्ली विश्वविद्यालयको हंसराज कलेजबाट अर्थशास्त्रमा स्नातक गरेकी हुन्। त्यसपछि उनले बेलायतको डरहम विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयको साईड बिजनेस स्कुलबाट कार्यकारी कार्यक्रम पूरा गरिन्।
मनोरञ्जन क्षेत्रमा प्रवेश गर्नुअघि उनले जोमाटो र अनएकेडेमी जस्ता ठूला ब्रान्डहरूसँग मार्केटिङमा काम गरेकी थिइन्। फिल्म निर्माता इम्तियाज अलीले लन्डनमा पढ्दै गर्दा अडिसनका लागि आमन्त्रित गरेपछि उनको अभिनय यात्रा सुरु भएको थियो। उनले फिल्म ‘लैला मजनु’ मा अम्ब्रीनको भूमिका निभाएकी थिइन् भने त्यसपछि ‘बार्ड अफ ब्लड’, ‘तनाव’ र ‘अमर सिंह चमकिला’ जस्ता चर्चित परियोजनाहरूमा काम गरेर आफ्नो छुट्टै पहिचान बनाएकी छिन्।
प्रकाशित: ५ श्रावण २०८३ १४:०४ मंगलबार