कला/साहित्य

‘२६ करोड’ मा प्रदिपसँग रोमान्स गर्दै साहारा

बलिउडका प्रख्यात अभिनेता विवेक ओबेरोयको उपिस्थतिका बिच नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ। भारतको मुम्बईस्थित ताज ल्याण्ड्स एन्डमा आयोजित भव्य समारोहका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो।

ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसनले आयोजना गरेको ‘रोज डे’ समाहरोहबिच चलचित्रको घोषणा गरिएको हो।

कार्यक्रममा चलचित्रको मुख्य अभिनेत्रीमा साहारा आर शाहलाई अनुबन्धित गरिएको छ। कार्यक्रममा निर्माता सुवास भुसाल र नवनायिका शाहका बीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

शाहले अनुपम खेरको एक्टर प्रिपेयर्स एक्टिङ एकेडेमीमा अभिनय सिकेकी हुन्। अभिनेता ओबेरोयले शाहले चलचित्रमा डेब्यु गर्नु आफ्ना लागि जन्मदिनको सबैभन्दा ठुलो उपहार भएको बताए।

अभिनेता ओबेरोयले लामो समयदेखि शाहको अभिभावकत्व सम्हाल्दै छन्। शाह ३ वर्षको उमेरदेखि नै क्यान्सर रोगसँग संघर्षरत थिइन्। क्यान्सरलाई जितिसकेकी शाहलाई क्यान्सर पेसेन्ट्स एड एसोसिएसनमार्फत अभिनेता ओबेरोयले स्वास्थ्योपचार, शिक्षा र संरक्षकत्व प्रदान गर्दै छन्।

चलचित्र घोषणा समारोहलाई सम्बोधन गर्दै अभिनेता ओबेरोय निकै भावुक बनेका थिए। उनले भने, ‘मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको बच्चाको रूपमा देखेको थिएँ। आज उनले क्यान्सरलाई जितेर चलचित्रको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु।’

सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रमा विकास सुवेदीको लेखन तथा निर्देशन रहनेछ। निर्देशक सुवेदीले शाह अडिशनमार्फत चलचित्रमा छनाेट भएको बताए। कथाअनुसार हिन्दी लवजकी नायिका आवश्यक भएकाले पनि शाह छनौट भएको उनको भनाइ छ।

चलचित्रमा औपचारिक रूपमा आवद्ध हुनुअघि शाहले अभिनेता ओबेरोय र तारे जमिनपरका लेखक अमुल गुप्तेसँग आशीर्वाद समेत लिएकी थिइन्। कार्यक्रममा ओबेरोयले चलचित्रको सफलताको शुभकामना दिनुका साथै निर्देशक सुवेदी र निर्माता भुसाललाई विशेष धन्यवाद दिंदै साहाराको सुखद फिल्मी करियरको कामना गरेका थिए।

यसअगावै चलचित्रको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन्। नेपालका सुपरस्टार अभिनेता प्रदीपको जोडीका रूपमा नवअभिनेत्री शाहले अभिनय गर्नेछिन।

किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालको जुम्ला र काठमाडौं तथा भारतको मुम्बई र केदारनाथका विभिन्न स्थानमा गरिने निर्माता भुषालले जनाएका छन्।

कर्नाली फिल्म फेष्टिवलका अवसरमा चलचित्रको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो। सोहीअनुरूप फेष्टिवलका निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा चलचित्र निर्माणको घोषणा गरिएको हो।

प्रकाशित: ८ आश्विन २०८३ १२:४५ बिहीबार