कला/साहित्य

‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएको छ। निर्माणपक्षले शुक्रबार चलचित्रको लोकलयको गीत सार्वजनिक गरेको हो।

गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ। सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको छ।

प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले सहयोग गरेका छन्।

गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ। युवकले सँगै जीवन विताउन गर्ने प्रस्ताव र युवतीले हतार नगर्न गरेको आग्रह गीतमा समावेश छ।

युवतीलाई फकाउन युवकले गर्ने प्रयास तथा युवतीले केटाको पारिवारिक अवस्थाबारे गरेको खोजीनिती गीतमा सुन्न सकिन्छ। लाखौँको प्रेम हतारमा नलगाउन युवतीले गरेको आग्रहसँगै गीत सकिन्छ। सवाल–जवाफ शैलीमा तयार पारिएको गीत श्रवणीय बनेको छ।

भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायतको अभिनय छ। गीतको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ। यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ। चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन्। हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन्।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन्। चलचित्रका सम्पादक मदन घिमिरे हुन्।

चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ।

प्रकाशित: २५ वैशाख २०८३ १८:५० शुक्रबार