कला/साहित्य

उत्साहित ‘रोल नं १’

‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ को अग्रिम बुकिङ खुला भएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स लगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन्।

पहिलो दिनका लागि क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौंबाहिर दमौलीबाहेक १९ शो दिएको छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइले आफ्ना ६ चेनमा तीनका दरले १८ शो दिएको छ। यसैगरी वान सिनेमाजले ५ शो र बिग मुभिजमा ४ शो दिएका छन्।

चलचित्र ‘रोल नं १’ ले देशभर १ सय ५० हाहारी शो पाएको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले बताए। यस सिनेमाका वितरक करण श्रेष्ठ र छविराज ओझाले दिएको जानकारी अनुसार उपत्यकाका हल र मोफसलका केही सिनेमा हलले शो निकाल्न बाँकी रहेको छ, सम्भवत ३ बजेभित्रमा सबै जानकारी आउने बताए।

‘हरेक विद्यार्थी’को कथा स्लोगन रहेको चलचित्र ‘रोल नं १’  प्रदर्शन हुँदै छ। जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्।

चलचित्रको बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन्।

चलचित्रका मुख्य कलाकारले यो सिनेमाको प्रचार देशभर पुगेर गरेका छन्। स्कुल–स्कुल पुगेर आफ्ना कुरा राख्दै विद्यार्थीको मनका कुरा सुनिरहेको यो टिम मोफसल र काठमाडौं उपत्यकाका स्कुलस्कुल पुगेर सिनेमाका कलाकारले प्रचार गरेका थिए। ‘रोल नं १’को प्रचार पूर्वी नेपाल झापाबाट सुरु गरेको टिमले पश्चिममा नेपालगञ्जसम्म पुगेर गरेका थिए।

फेरि कलाकार दर्शक भेट्न मोफसलका हलमा पुग्ने तयारीमा छन्। सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमालाई ग्रेडिङ गर्ने क्रममा चलचित्रको खुलेर तारिफ गरेको निर्माण टिमले बताएको छ। सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमाको तारिफ गरेपछि उत्साहित बनेको निर्माण टिम चलचित्र प्रदर्शनपछि दर्शकलाई भेट्न हलहलमा पुग्ने तयारीमा छ।

चलचित्रले वर्ड अफ माउथ राम्रो पाउनेमा ढुक्क देखिएको निर्माण टिम ‘पूर्णबहादुरको सारङ्गी’ जस्तै विस्तारै दर्शकको माया पाउनेमा विश्वस्त छ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १ लाई महेश दवाडीले लेखेका हुन्। यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन्।

प्रकाशित: १५ जेष्ठ २०८३ १२:४२ शुक्रबार