युवा कवि मिलन समीरकाे निर्बन्ध- काव्य सिर्जना ‘म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु’ माथि केन्द्रित विमर्श कार्यक्रम भएको छ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमको आयोजना वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले गरेको थियो। उक्त कार्यक्रम अभियानको ४० औँ पाइला अर्थात् शृङ्खलाको रूपमा रहेको थियो।
स्याङ्जाली साहित्यको इतिहासमै यसरी फुटकर रचनामाथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम यो नै पहिलो हो। निर्बन्ध- काव्य सिर्जना "म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु" माथि विमर्श कार्यक्रम वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरिएको थियो।
विमर्श कार्यक्रम अनौपचारिक रूपमा आयोजना गरिएको थियो। कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरले सहजीकरण गरेका थिए।
कार्यक्रममा प्रस्तुत निर्बन्ध- काव्य सिर्जनाका स्रष्टा युवाकवि मिलन समीर, वक्ताहरू अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल, युवराज सुवेदी र वसन्त खनाल तथा अभियन्ता पारिश्वर न्यौपानेले प्रस्तुत निर्बन्ध- काव्य सिर्जनामाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी साहित्यप्रेमी व्यक्तित्वहरूले नवीनतम निर्बन्ध- काव्य सिर्जनारम्भ भएकोमा खुशी प्रकट गर्दै शुभकामना व्यक्त गरेका थिए।
करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर हाल वालिङमा रहेर सिर्जनशील कर्ममा विशेष सक्रिय छन्। साहित्यिक अभियन्ताको पहिचान बनाएका सशक्त युवा स्रष्टा मिलन समीरका गाउँमा साइरन बजेपछि (कवितासङ्ग्रह, २०६९), प्रिय दुश्मन (शृङ्खला कविता- २०७९), मिलन समीर र मिलन समीरहरु (शृङ्खला कविताहरू- २०८०) र मिलनमन्त्र (मायालु मुक्तकहरू- २०८०) लगायतका एकल र संयुक्त रूपमा थुप्रै कृति प्रकाशित छन्।
थुप्रै साहित्यिक कृतिको सम्पादन गरिसकेका मिलन समीर स्थानीयदेखि राष्ट्रियस्तरका महत्त्वपूर्ण पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन्।
प्रकाशित: १८ चैत्र २०८२ १०:५४ बुधबार