"सर हिंडौं!" अशोकले साधुको घरमै पुगेर भन्यो।
"कहाँ जान थालेको बाबु?" साधुले मलिन हुँदै सोधे।
"ओहो सर कस्तो सम्झाइरहन परेको हजुरलाई! पोहाेर पनि ठट्टा गरेर चकित पार्नुभएको थियो।" ऊ आश्चर्य हुँदै भन्यो।
"बाबु तिमी आफैँ मेरा घरमा आएर जाउ भनेपछि त मैले सोध्नु परेन र? मलाई के थाहा तिमी कता जान्छौ भन्ने।" साधुले निधार खुम्चाउँदै भने।
"सर मसँग साधन छ। त्यसैले हजुरको घरमै आएर हजुरलाई बसालेर लैजाउँला भनेर आएको हुँ।" अशोकले भन्यो।
"त्यही त मलाई कहा जाने भन्ने थाहा भएन नि बाबु?" साधुले फेरि उही प्रश्न दोहायाए।
"सर, यो घर सहिदको हो। सबैले भुले पनि गणतन्त्र दिवस हजुरले कसरी भुल्न सक्नुहुन्थ्यो र सर!" अशोकले भन्यो।
"बाबु, सधैँका दिन एकनास कहाँ हुन्थ्यो र? लपरिस्थितिले भुल्न बाध्य गरायो। आन्दोलनमा छोरा गुमायौं, भुइँचालोमा सर्वस्व गुमायौं अनि अस्तिको बाढीमा ...!
"साधु बोल्दा बोल्दै भावुक भए उनी अगाडि बोल्नै सकेनन्।
"सर माफ गर्नुहोला! मलाई भोटेकोशी बाढीबाट भएको क्षति थाहा थिएन।" अशोकले बुझ्न खोज्याे।
"अस्तिको त्यो बाढीले त मबाट मेरो जीवन नै खोस्यो। घरबार त मानिस बाँचे बन्दो रहेछ। त्यो भूकम्पबाट सबै घरबार गुमाए पनि फेरि घर ठडाएकै हौं।" उनी फेरि रून थाले।
"के यसपालि पनि?" अशोकले अँगालोमा बेर्दै सोध्यो।
"मेरो एक मात्र सन्तान नातीको सपरिवार नै हराएका छन् बाबु। त्यसैले मैले जिउने कला नै भुलिसकें।" साधुले भररर आँसु बगाउँदै भने।
अशोक आफैँ पनि भावविह्वल भयो।
प्रकाशित: ३ आश्विन २०८३ ०७:०३ शनिबार