“तिमी किन यति ठूलो?” हाइकुले जिज्ञासा राख्यो।
“किनकि संसार छोटो उत्तरले बुझिँदैन,” बीसौँ पृष्ठको शरीर उचाल्दै कथाले हाँसेर भन्यो।
उसलाई हेरेर हाइकु मुस्कुरायो।
कथाले सोध्यो, “अनि तिमी त तीन हरफमै संसार अटाउँछ भन्छौ नि!”
हाइकु केही भन्न खोज्दै थियो। कथाले आफूलाई पल्टाउन थाल्यो। कुनै पानामा युद्ध थियो, कुनैमा प्रेम, कुनैमा मृत्यु र कुनै पानामा शहर जलिरहेको थियो।
“पढ्यौ? मभित्र सबै छ - जन्म, प्रेम, घृणा, युद्ध र मृत्यु,” कथाले सगर्व भन्यो।
“तर तिमीलाई पढ्न निकै समय चाहिन्छ,” हाइकुले भन्यो।
“समय नै त जीवन हो,” कथा मुसुक्क हाँस्याे।
“आजका व्यस्त पाठकसँग लामो रचना पढ्ने समय कहाँ छ र? ल, अब मेरा तीन हरफ सुन,” हाइकुले भन्यो।
हाइकुले पहिलो हरफ सुनायो, “पाठक छैनन्…!”
कथाका पाना एकाएक स्थिर भए।
हाइकुले दोस्रो हरफ भन्यो,“साहित्यिक सिर्जना…!” कथा झस्कियो।
हाइकु केहीबेर रोकियो अनि तेस्रो हरफ उच्चारण गर्यो, “कसले पढ्छ?”
कथा काँप्यो। उसका सबै पाना आफैँ पल्टिँदै गए र अन्तिम पानामा पुगेर रोकिए।
त्यहाँ एउटा मात्र वाक्य थियो, “पाठक हराएपछि कथा कसलाई सुनाउने?”
हाइकु केहीबेर मौन रह्यो। उसले आफ्ना तीन हरफतिर हेर्यो। हेर्दाहेर्दै पहिलो हरफ मेटियो। दोस्रो हरफ पनि मेटियो। तेस्रो हरफ मात्र बाँकी रह्यो, “कसले पढ्छ?”
प्रकाशित: १८ आश्विन २०८३ १०:२७ आइतबार