र्यान्डम रिडर्स सोसाइटीले पोखरामा कर्णालीको चर्चा चलाएको छ। माधव चौलागाईको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा दरिलो भएको धारणा राखिन्।
“भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको आकर्षण बढ्दो छ” पोखरेलले भनिन्,“विशेष गरी पहाडे खसभाषीहरूको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिँजा उपत्यका रहेको कर्णाली क्षेत्र हरेक नेपालीका लागि पितृभूमि र सांस्कृतिक अवचेतनको आधारशीला हो।”
बुद्धिजीवी र लेखकहरूको नयाँ पुस्ताले कर्णालीलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउन आफ्नो सिर्जनशीलता अर्पण गरिरहेको उनको भनाइ थियो। जुम्लामा जन्मेका लेखक माधव चौलागाईको ‘सपादलक्ष कर्णाली’ लाई इतिहास, स्मृति र सम्भावनाको सशक्त दस्तावेज रूपमा पोखरेलले चित्रण गरिन्।
तीन खण्डमा विभाजित कृतिलाई उनले ‘अर्गानिक स्वाद’ को कृतिका रूपमा व्याख्या गरिन्। कर्णालीप्रति चासो राख्ने पाठकहरूका लागि यो उपयुक्त कृतिका रूपमा सिफारिस गर्दै उनले यो कृति आम जनता, नेता र राज्यलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज भएको विचार राखिन्।
लेखक माधव चौलागाईले हरेक क्षेत्रको दुर्गम ठाउँलाई ‘कर्णाली’ भनिदिने चलनप्रति विमति राख्दै कर्णालीको विम्ब फेरिनुपर्ने जिकिर गरे। उनले कर्णाली सम्भावनाहरूको खानी भएको धारणा राखे।
कर्णाली भनेको साविकको कर्णाली अञ्चल वा अहिलेको कर्णाली प्रदेश मात्र नभई समग्र कर्णाली सभ्यता भएको बताए। वर्तमान सङ्घीय संरचनामा पनि कर्णालीका नाममा विनियोजित बजेटको दुई तिहाई हिस्सा कुनै निश्चित जिल्लामा मात्र सीमित हुनु सङ्घीयताको मर्मविपरीत हुने तर्क राख्दै त्यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए। कर्णालीका संस्कृति, भूगोल र भाषा सम्बन्धी विचार राख्ने क्रममा कृति जन्मिएको उनको भनाइ थियो।
कार्यक्रममा साहित्यकार सरुभक्तले आफू कर्णाली जाँदको अनुभव सुनाउँदै कर्णाली हिजो जस्तो आज नभएको र आजभन्दा भोलिका दिनमा थप विकसित हुँदै जाने अपेक्षा राखे। उनले कर्णालीका विषयमा लेखिएका कृतिहरूको लामो फेहरिस्त तयार पार्न सकिने भए पनि लेख्न सकिने विषय प्रशस्त भएको बताए। ‘सापदलक्ष कर्णाली’ ले कर्णालीबारे महत्त्वपूर्ण जानकारी दिने प्रतिक्रियासमेत दिए।
मेघनाथ कुँवर, सुरेश रानाभाट, विद्याविमल बराल, डिल्लीप्रसाद ढुङ्गाना, रेशम गिरी, रोशन तलिगोठ्याल, खिम लामिछाने, डा. रामचन्द्र बराल, भानुभक्त पोखरेल लगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए। सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिवार कुनै कृति तथा विषयमा बौद्धिक बहस गर्दै आएको छ।
प्रकाशित: ३१ श्रावण २०८२ १३:०७ शनिबार