कला/साहित्य

चरित्र हत्या गर्नेविरुद्ध रामकृष्ण ढकालले दिए उजुरी

गायक तथा निर्माता रामकृष्ण ढकालले आफूमाथि भइरहेको मानहानि र भ्रामक प्रचारविरुद्ध कानुनी कदम चालिएको बताएका छन्।

आफ्नो व्यक्तिगत जीवन र पेसागत प्रतिष्ठामा गम्भीर आघात पुगेको बताउँदै उनले स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि नै धावा बोल्ने यस्ता घृणित कार्यहरू सहन नसकिने बताए।

शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले भनेका छन्– ‘विगत केही समयदेखि सामाजिक सञ्जालका विभिन्न माध्यम, विशेष गरी फेसबुकमा केही व्यक्ति र समूहहरूले मेरो व्यक्तिगत चरित्र हत्या गर्ने, निकृष्ट गालीगलौज गर्ने, मानहानि गर्ने र मेरो लामो समयको अथक मेहनतबाट बनेको करियर नै सिद्ध्याइदिने धम्की सहितका भ्रामक भिडियो र पोस्टहरू फैलाइरहेका छन्।’

उनले थप भनेका छन्,‘ स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि नै धावा बोल्ने यस्ता घृणित कार्यहरू सहन नसकिने भएकाले मैले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो, भोटाहिटीमा विधिवत् रूपमा उजुरी दर्ता गराएको जानकारी गराउन चाहन्छु।’

जापानबाट सञ्चालित फेसबुक पेजले शृङ्खलाबद्ध प्रहार गरिरहेको बताउँदै उनले साइबर ब्युरोमा उजुरी दिएको उल्लेख गरे। यस्तै, उनले अरू फेक आइडीमार्फत घृणा फैलाउने वा मानसिक तनाव दिने विरुद्ध पनि डिजिटल विवरण प्रमाणसहित साइबर ब्युरोमा उजुरी दिएको बताए।

यस्तै, उनले सामाजिक सञ्जाललाई कसैको जीवन बर्बाद पार्ने हतियार बनाउनेहरू विरुद्धको यो लडाइँ सबैका लागि सन्देश बन्ने बताए।

प्रकाशित: २५ वैशाख २०८३ १३:०७ शुक्रबार