कला/साहित्य

अमेरिकामा ‘रामायण’ को ग्लोबल प्रिमियर

बलिउड फिल्म ‘रामायण’ प्रदर्शन हुन अब आठ दिन मात्रै बाँकी छ। यसैबीच, बुधबार अमेरिकाको लस एन्जलसमा फिल्मको ग्लोबल प्रिमियर आयोजना गरिएको थियो।

प्रिमियरमा फिल्मका मुख्य कलाकारसँगै हलिउडका चर्चित व्यक्तित्वहरू पनि सहभागी भएका थिए।

नितेश तिवारीको निर्देशनमा बनेको पौराणिक फिल्म ‘रामायण’ को विशेष थ्रीडी प्रदर्शन लस एन्जलसस्थित एकेडेमी म्युजियम अफ मोसन पिक्चर्सको डेभिड गेफेन थिएटरमा आयोजना गरिएको हो। उक्त कार्यक्रममा विशेष निमन्त्रणा पाएका पाहुनाहरूलाई मात्रै सहभागी गराइएको थियो।

फिल्ममा भगवान् रामको भूमिका निर्वाह गरेका रणबीर कपूर, रावणको भूमिकामा रहेका यश र माता सीताको भूमिका निभाएकी साई पल्लवी रेड कार्पेटमा उपस्थित भएका थिए। उनीहरूले प्रशंसकसँग भेटघाट गर्नुका साथै तस्बिर खिचाए।

भगवान् रामको भूमिका निभाएका रणबीर कपूर सिल्भर रङको चम्किलो बन्दगला पोसाकमा देखिए। उनले रेड कार्पेटमा उपस्थित प्रशंसकहरूको अभिवादन स्वीकार गर्दै क्यामेरामा देखिए।

फिल्ममा रावणको भूमिका निर्वाह गरेका यश आफ्नी पत्नी तथा पूर्वअभिनेत्री राधिका पण्डितसँग प्रिमियरमा पुगेका थिए।

यश कालो रङको आकर्षक पोसाकमा गएका थिए। उनले विशेष ब्रोच र कालो चस्माले आफ्नो लुकलाई थप आकर्षक बनाएका थिए। राधिका भने हरियो र सुनौलो रङको रेशमी साडीमा देखिइन्। उनको परम्परागत पहिरनले सबैको ध्यान खिचेको थियो।

फिल्ममा माता सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी रातो रङको जरदोजी साडीमा निकै सुन्दर देखिइन्। साडीमा गरिएको मसिनो कढाइले उनको पहिरनलाई विशेष बनाएको थियो।

फिल्मको पहिलो प्रदर्शनअघि हल भारतीय तथा विदेशी पाहुनाहरूले भरिएको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ।

प्रिमियरमा मुख्य कलाकार र फिल्मको टोलीसँगै जेडा पिङ्केट स्मिथ, रोहिणी अय्यर, बेन्जी केली र जिसेला मारेंगोलगायतका व्यक्तित्वहरू पनि सहभागी भएका थिए।

ग्लोबल प्रिमियरको सबैभन्दा चर्चित क्षणमध्ये रणबीर कपूर र यशले एकअर्कालाई अँगालो हालेको दृश्य पनि रह्यो। दुवै कलाकारको यो भेटको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

फिल्मको ग्लोबल प्रिमियर २८ अक्टोबरमा नेपाली समयअनुसार बिहान करिब ७ बजेतिर सुरु भएको थियो। विशेष थ्रीडी प्रदर्शनमा निमन्त्रणा पाएका पाहुनाहरूलाई मात्रै प्रवेश दिइएको थियो।

करिब २ हजार करोड भारतीय रुपैयाँ बजेट रहेको भनिएको ‘रामायण’ को अग्रिम टिकट बिक्रीमा सुरुवाती उत्साह देखिएको छ।  

व्यापारिक अनुमानअनुसार फिल्मले भारतमा प्रदर्शनको पहिलो दिन मात्रै ११० करोड भारतीय रुपैयाँभन्दा बढी नेट कमाइ गर्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि, यो अनुमान मात्रै हो, वास्तविक कमाइ फिल्म प्रदर्शन भएपछि स्पष्ट हुनेछ।

नितेश तिवारीको निर्देशन र नमित मल्होत्राको निर्माणमा बनेको ‘रामायण’ ५ नोभेम्बर २०२६ मा प्रदर्शन हुने तयारीमा छ।

फिल्ममा रणबीर कपूर, साई पल्लवी र यशका अतिरिक्त काजल अग्रवाल, रकुल प्रीत सिंह, विवेक ओबेरोय, कुणाल कपूर, आदिनाथ कोठारे, अरुण गोविल, इन्दिरा कृष्णन र लारा दत्तालगायतका कलाकार पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।

प्रकाशित: ११ कार्तिक २०८३ १२:२९ बुधबार