कला/साहित्य

राजेश हमाल भन्छन्: लोकतन्त्रमा प्रदर्शन होइन, विवेकको जित हुनुपर्छ

अभिनेता राजेश हमालले लोकतन्त्र, नेतृत्व, राजनीतिक स्थिरता र राष्ट्रिय हितबारे सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै नेपाललाई दलगत स्वार्थभन्दा माथि उठेर दूरदृष्टियुक्त नेतृत्व र बलियो लोकतान्त्रिक संस्कृतिको आवश्यकता रहेको बताएका छन्।

सुकरातको भनाइ उद्धृत गर्दै हमालले लोकतन्त्रको सुन्दरता जनमतमा भए पनि त्यसको सबैभन्दा ठूलो चुनौती पनि त्यहीँ लुकेको उल्लेख गरेका छन्। उनका अनुसार लोकतन्त्रमा धेरैजसो बुद्धिमत्ताभन्दा प्रदर्शन, डर, अहंकार र क्षणिक सन्तुष्टिलाई प्राथमिकता दिने प्रवृत्ति हाबी हुने गरेको छ, जसका कारण जटिल समस्याका अत्यन्त सरल समाधानको आश्वासन दिनेहरू लोकप्रिय बन्ने अवस्था सिर्जना हुन्छ।

हमालले गत निर्वाचनअघि आफूले व्यक्त गरेको चिन्ता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै विश्वको बदलिँदो भूराजनीतिक शक्ति–सन्तुलन, आर्थिक गठबन्धन र अन्तर्राष्ट्रिय परिस्थितिका बीच नेपालजस्तो रणनीतिक महत्वको मुलुकलाई परिपक्व, दूरदर्शी र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्।

उनले अघिल्लो निर्वाचनमा मतदातासामु अनुभवी तर जनविश्वास गुमाएका पुराना दल र अपेक्षाकृत नयाँ राजनीतिक शक्तिबीच कठिन छनोटको अवस्था रहेको उल्लेख गरेका छन्। तथाकथित नयाँ शक्तिलाई नागरिकले आशा र अनुभवबीच सन्तुलन खोज्दै अवसर दिन सक्ने अवस्था भए पनि जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा राष्ट्रको नेतृत्व गर्ने आवश्यक राजनीतिक परिपक्वता, दीर्घकालीन दृष्टि र शासन सञ्चालनको अनुभव अझै प्रमाणित हुन बाँकी रहेको उनको भनाइ छ।

नेपालका लागि सबैभन्दा आवश्यक स्थिर सरकार भएको उल्लेख गर्दै हमालले स्थिरताले राष्ट्रिय हितका पक्षमा कठिन निर्णय लिन, नीतिगत निरन्तरता कायम गर्न र विश्व परिवेशअनुसार विवेकपूर्ण ढंगले अघि बढ्न सहयोग पुग्ने बताएका छन्। विश्व अशान्त भइरहेका बेला देशभित्रको राजनीतिक अस्थिरता राष्ट्रका लागि महँगो सावित हुन सक्ने उनको चेतावनी छ।

हमालले लोकतन्त्रले पूर्ण विकल्पको ग्यारेन्टी नगरे पनि गल्तीबाट सिक्ने, सुधार गर्ने र अझ राम्रो भविष्य निर्माण गर्ने अवसर प्रदान गर्ने उल्लेख गरेका छन्। उनले नेपाल बलियो बन्न लोकतन्त्र बलियो हुनुपर्ने, नागरिकको विवेक, संस्थागत परिपक्वता र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता कुनै पनि दल वा व्यक्तिको स्वार्थभन्दा माथि रहनुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक उक्त सन्देशको अन्त्यमा हमालले इतिहासले केवल कसले निर्वाचन जित्यो भन्ने होइन, कठिन समयमा राष्ट्रलाई दलभन्दा माथि राखियो कि राखिएन, एकतालाई प्राथमिकता दिइयो कि दिइएन र दीर्घकालीन राष्ट्रिय हितलाई क्षणिक राजनीतिक लाभभन्दा माथि राखियो कि राखिएन भन्ने आधारमा मूल्याङ्कन गर्ने बताएका छन्। साथै उनले लोकतन्त्र केवल निर्वाचनमा सीमित नभई जिम्मेवारी, उत्तरदायित्व, दूरदृष्टि र राष्ट्रप्रतिको समर्पणको संस्कार बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित: २१ श्रावण २०८३ २१:०७ बिहीबार