कला/साहित्य

निफमा ‘राजागञ्ज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षा सर्वोत्कृष्ट, नेपालको ‘गुन्यू चोलो’ले जित्यो अवार्ड

नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ : पूजा सर’ले जितेको छ ।  

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सोमबार भएको समापन कार्यक्रममा अवार्ड विजेता फिल्मलाई ट्रफी र एक हजार पाँच सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ ।  

सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ले पाएको छ । यो फिल्मले ट्रफी र एक हजार अमेरिकी डलरले सम्मानित भयो । भट्टले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् । यही चलचित्रबाट नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जिते । चलचित्र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितिन् ।  

राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचनले पाएका छन् । सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड चलचित्र ‘कोशेढुङ्गा’बाटै बाबु श्रेष्ठले पाए।

दक्षिण एसियाली चलचित्र अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय चलचित्र ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ । फुर्वा क्षिरिङ लामा निर्देशित यस चलचित्र ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ ।  

त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले पाएको छ । इर्सा रोका फ्यानबर्ग निर्देशित यो डकुमेन्ट्रीलाई ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ ।  

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड ’सिप’ले पाएको छ । हादी बाबेइफरद्वारा निर्देशित इरानको यो सर्ट फिल्म ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ ।  

सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड जितेको ‘स्पिरिट अफ द माउन्टेन’ ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ । यो पाङ जियाद्वारा निर्देशित यो चिनियाँ सर्ट फिल्म हो ।

सर्वोत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र ‘पासारिन्हो’ घोषित भएको छ । यो चलचित्रलाई पाँच सय डलर र ट्रफीले सम्मान गरिएको छ ।  

सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री दीपक छोदेन लामाद्वारा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको सुरज पौडेलद्वारा ‘रिहाना’ घोषित भए । यी दुवै ट्रफी र ५० हजार रुपैयाँले सम्मानित भएका छन् ।  

डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ले पाएको छ । हेसाम फराहमान्दद्वारा निर्देशित यो फिल्मलाई प्रमाणपत्रले सम्मान गरिएको छ ।  

स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्री ङिमा गेलु शेर्पाद्वारा निर्देशित ‘एज डे गोज बाइ’ घोषित भयो । यसलाई प्रमाणपत्रले सम्मान गरियो ।  स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म भारतको ‘हाउसकिप्पर’ घोषित भयो । सूर्या बालाकृष्णद्वारा निर्देशित यो सर्ट फिल्मलाई प्रमाणपत्रले सम्मान गरियो ।  

स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्र अवार्ड भने चिनियाँ चलचित्र ‘द शोर अफ लाइफ’ घोषित भएको छ । प्रमाणपत्रले सम्मानित यो फिल्मको निर्देशक ची झाङ हुन् ।  

प्रमुख अतिथि हार्तम्छालीले अवार्ड कार्यक्रम आयोजना गरी विदेशी फिल्म उद्योघसँग नेपाली चलचित्रलाई जोड्ने र सम्बन्ध विस्तारको काम गरेको भन्दै निफका अध्यक्ष केपी पाठकलाई धन्यवाद दिए।

अध्यक्ष पाठकले निफ सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । यो संस्करणको निफ चैत १९ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित: २३ चैत्र २०८२ १९:५२ सोमबार