एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा 'कालमाण्डू' आउँदाे
पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ। निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो।
रमेश देवकोटाले लेखेका गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत छ। यो गीतको सार्वजनिक भिडियोमा मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन्। गीतमा उनीहरू राधाकृष्णको भूमिकामा प्रस्तुत छन्। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन सुस्लिङको डीओपी तथा सम्पादन छ।
एकातिर अपराध र थ्रिलरको कथा, अर्कातिर प्रेमिल भाव बोकेको 'राधा' यी दुई फरक स्वादले 'कालमाण्डू' को संसारलाई थप फराकिलो बनाउने देखिएको छ। सिनेमाको कथा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या र पारिवारिक सम्बन्ध केन्द्रमा आधरित रहेको निर्माण टिमले जनाएको छ।
मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको सिनेमा सयनम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन्। सिनेमामा काठमाडौंको बाहिरी चमकभित्र लुकेको अँध्यारो संसार, मानव तस्करी, अपहरण, हत्या र अपराधको जाललाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले बताए।
निर्देशक अधिकारीका अनुसार सिनेमामा १९ वर्षीया बहिनी हराएपछि उनलाई खोज्न निस्किएको दाजु कसरी अपराधीहरूको संसारमा फस्छ र बहिनी खोज्ने क्रममा कस्ता खतरासँग भिड्छ भन्ने देखाउन खोजिएको छ।
'सिनेमा एक दाजुले आफ्नी १९ वर्षीया बहिनीको खोजीमा अपराधीहरूसँग गर्ने संघर्षको कथामा आधारित छ,' निर्देशक अधिकारीले भने, 'कालमाण्डू एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ।'
सिनेमाले एक्सनसँगै दाजु र बहिनीप्रतिको प्रेम, खोजी र अपराधसँगको खतरनाक युद्धको कथा प्रस्तुत गर्नेछ। सिनेमामा गजित विष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारी लगायत कलाकारको अभिनय छ।
सिनेमाको छायांकन काठमाडौं, ललितपुर, भक्तपुरदेखि पर्साको ठोरीमा गरिएको हो। सिनेमामा पवन सुस्लिङको छायांकन तथा सम्पादन, राजु लामा र मिस्टर काजीको द्वन्द्व निर्देशन, रवि भुजेलको सहायक निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी र सम्राट न्यौपाने संगीत निर्देशन छ।
कमल थिङ निर्माता रहेको सिनेमामा मिलन कटवाल र शम्भु श्रेष्ठले प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्। यो सिनेमालाई सिंहदेवी प्रोडक्सनले वितरण गर्नेछ।
प्रकाशित: २५ भाद्र २०८३ ११:५५ बिहीबार