चलचित्र ‘महाराजधिराज’ का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ। उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो।
यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘महाराजधिराज’ कै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन्।
‘महाराजधिराज’ का लागि पुष्पले तपस्या गरेको बताएका छन्। “आज गर्वका साथ भन्न सक्छु, कलाकारमा हुनुपर्ने गुण भनेकै ठूलो त्याग, तपस्या र संघर्ष हो,” उनले फेसबुकमा लेखेका छन्, “‘महाराजधिराज’ चलचित्रका लागि गरेको त्याग, तपस्या र संघर्ष साँच्चिकै प्रशंसनीय छ।”
विराजले ‘महाराजधिराज’ प्रदर्शनपछि पुष्पले १५ वर्ष नेपाली सिनेमा उद्योगमा पछि फर्किएर हेर्नुनपर्ने बताएका छन्। “चलचित्र ‘महाराजधिराज’ प्रदर्शनपछि साँच्चिकै पीके (पुष्प) ले नेपाली चलचित्र उद्योगमा १५ वर्ष फर्केर हेर्नुपर्ने अवस्था आउँदैन।”
पुष्पले यो चलचित्रमा अनुबन्ध हुने कागजी सम्झौता गर्दा हात काटेर रगतको औँठा छाप लगाएका थिए। त्यहीबेलादेखि नै उनी चर्चामा छन्।
‘महाराजधिराज’को अहिले काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन अहिले काठमाडौंमा भइरहेको हो। भक्तपुरमा पनि यो सिनेमाको छायांकन भएको थियो, यो चलचित्रको छायांकन सेड्युल ७० दिनको छ।
परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन्। ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन्।
चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., गजित विष्ट छन्।
ठूलो संख्यामा कलाकार रहेको यो चलचित्रमा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछ।
८० जना कलाकार रहने यो सिनेमामा कमल गाउले, शिशिर भण्डारी, शिवु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ। ‘महाराजधिराज’ का निर्मातामा रवि खड्का र टोपेन्द्र विष्ट हुन्।
प्रकाशित: २३ श्रावण २०८३ १३:१७ शनिबार