‘पुर्पुरो’ लेखिका पार्वती तिवारी आचार्यद्वारा लिखित जीवनपरक कृति हो, जसले व्यक्तिगत अनुभव, सामाजिक यथार्थ र मानवीय संवेदनालाई समेट्दै पाठकलाई गहिरो आत्ममन्थन गर्न प्रेरित गर्छ। यो कृति साधारण अर्थमा उपन्यास मात्र होइन, बरु लेखिकाले आफ्नो जीवनमा भोगेका सत्य र महत्त्वपूर्ण घटनाहरूलाई आधार बनाएर सिर्जना गरिएको औपन्यासिक शैलीको जीवनी हो। यस पुस्तकमा कुनै बनावटीपनको प्रयोग गरिएको छैन, बरु जीवनका यथार्थ घटनालाई सहज र प्रभावकारी शैलीमा प्रस्तुत गरिएको छ। त्यसैले यो कृति समाजलाई बुझ्ने माध्यम बनेको छ।
‘पुर्पुरो’मा विशेष गरी निम्न, असहाय वर्ग र महिलामाथि समाजले गर्ने व्यवहारलाई उजागर गरिएको छ। हाम्रो समाजमा विद्यमान विभेद, अन्याय, सामाजिक दबाब र कमजोर वर्गले भोग्नुपर्ने पीडालाई लेखिकाले आफ्नै अनुभवका आधारमा प्रस्तुत गरेकी छन्। पुस्तकले नेपाली समाजको अवस्था र संरचनालाई प्रश्न गर्दै समाज सुधारको चाहना व्यक्त गरेको छ। यही कारणले यो पुस्तकलाई समाजको यथार्थ दर्पणका रूपमा लिन सकिन्छ।
पुस्तकको शीर्षक ‘पुर्पुरो’ आफैंमा अर्थपूर्ण र प्रतीकात्मक छ। ‘पुर्पुरो’ शब्दले मानिसको भाग्य, चिन्ता, सोच र नियतिको संकेत गर्छ। पुस्तक पढिसकेपछि पाठक आफैं अनायासै आफ्नो पुर्पुरोमा हात राखेर सोच्न बाध्य हुनेछन्– आफू कस्तो समाजमा बाँचिरहेका छौं? हाम्रो समाजले मानिसलाई कस्तो व्यवहार गरिरहेको छ? साथै, आफ्ना सन्तानको पुर्पुरो सुमसुम्याउँदै उनीहरूको भविष्य कस्तो होला भन्ने चिन्ता पनि पाठकमा जागृत हुन सक्छ। यसरी ‘पुर्पुरो’ शीर्षकले केवल व्यक्तिको भाग्य मात्र होइन, समाजको सामूहिक नियतिलाई पनि संकेत गर्छ।
लेखनको प्रेरणा कुनै एक मात्र घटनाबाट प्राप्त हुँदैन भन्ने कुरा लेखिकाले स्पष्ट रूपमा बताएकी छन्। मानिस वरिपरि रहेका वस्तु, प्रकृति, समाज, मानिसबिचका सम्बन्ध, व्यवहार र दृश्य–परिदृश्यहरूले लेखकलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन्। कसैले ती घटनालाई कसरी हेर्छ, बुझ्छ र महसुस गर्छ भन्ने कुराले लेखनको स्वरूप निर्धारण गर्छ। त्यसैले लेखन केवल कल्पनाको खेल मात्र नभई संवेदनशील दृष्टि र गहिरो अनुभूतिको परिणाम पनि हो। ‘पुर्पुरो’ लेखिकाको पहिलो कृति हो।
प्रकाशित: २१ चैत्र २०८२ १०:२१ शनिबार