कला/साहित्य

हरर फिल्म ‘भिडियोटेप’ निर्माणको घोषणा

हरर जनरामा आधारित नयाँ चलचित्र ‘भिडियोटेप’ को घोषणा भएको छ। ओविद उद्धिनको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्रको मंगलबार निर्माण घोषणा भएको हो।

ललितपुरस्थित लबिम मलमा पत्रकार सम्मेलनबिच ‘भिडियोटेप’ को निर्माण घोषणा गरिएको हो।

यसमा नयाँ अनुहारहरुलाई प्राथमिकता दिएको छ। निर्माण टिम अनुसार चलचित्रको लागि चार करोड छुट्याइएको छ।

भदौ ५ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो।

कार्यक्रममा बोल्ने क्रममा निर्देशक ओविदले भने, ‘म सानैदेखि हरर जनराको सिनेमा हेरेर हुर्किएको हुँ। त्यसैले, आफ्नो डेब्यु चलचित्र पनि यही जनरालाई अगाडि बढाएको छु। यो कथा काल्पनिक विषयमा आधारित छ।’

चलचित्रमा उपासना सिंह ठकुरी र कुन्दुनमान शाक्यको मुख्य भूमिका रहनेछन्। साथै जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको अभिनय रहनेछ।

नागरिककर्मीसँग कुराकानीको क्रममा चलचित्रका लागि कलाकार अझ थप्ने क्रममै रहेको र नयाँ कलाकारलाई पनि अवसर दिनु पर्नेमा आफू विश्वास राख्ने उनले बताए।

प्रकाशित: २६ श्रावण २०८३ १८:०४ मंगलबार