प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को सार्वजनिक गरिएको गीत विवादमा परेको छ। गीतमा महिला शिक्षकलाई अपमानजनक ढंगले चित्रण गरिएको भन्दै नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघ–संगठनले गीत तत्काल हटाउन र चलचित्रमा प्रयोग नगर्न माग गरेका छन्।
भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीत सार्वजनिक भएपछि शिक्षक समुदाय, अभिभावक र सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। विशेषगरी महिला शिक्षकको चरित्रलाई प्रस्तुत गरिएको शैलीले शिक्षण पेशाको गरिमामा आँच पुर्याएको भन्दै व्यापक आलोचना भइरहेको छ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गीतले सम्पूर्ण शिक्षक समुदायलाई गलत ढंगले चित्रण गरेको आरोप लगाएका छन्। उनीहरूले शिक्षण पेशा समाजको सम्मानित पेशा भएकाले त्यसको मर्यादामाथि चोट पुग्ने कुनै पनि सामग्री स्वीकार्य नहुने बताएका छन्।
महासंघले गीतमा महिला शिक्षकप्रति अमर्यादित शब्द र भाव प्रयोग गरिएको भन्दै उक्त गीत तत्काल हटाउन तथा चलचित्रमा समावेश नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। बालबालिकालाई सही मार्गदर्शन गर्ने शिक्षकको सम्मान गर्नुको सट्टा अपमानजनक प्रस्तुति दिइएको महासंघको ठहर छ।
महिला शिक्षक समाजकी अध्यक्ष जानुका नेपालले पनि गीतले महिला शिक्षकको सामाजिक छवि र पेशागत गरिमामा गम्भीर असर पुर्याएको बताइन्। उनले सम्बन्धित दृश्य र गीत पुनरावलोकन गरी आवश्यक परिमार्जन गर्न तथा निर्माता पक्षले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन्।
उनका अनुसार मनोरञ्जनका नाममा कुनै पनि पेशा वा समुदायको प्रतिष्ठामा आँच पुग्ने सामग्री उत्पादन गर्नु उचित होइन। महिला शिक्षकलाई यौनजन्य संकेत र अपमानजनक शैलीमा प्रस्तुत गरिएको भन्दै यस्तो सामग्रीलाई कलाको स्वतन्त्रताको नाममा स्वीकार गर्न नसकिने उनको भनाइ छ।
यता चलचित्रसँग सम्बन्धित पक्ष तथा केही चलचित्रकर्मीले भने चलचित्र काल्पनिक कथा र पात्रमा आधारित सिर्जना भएकाले त्यसलाई सम्पूर्ण शिक्षक समुदायको प्रतिनिधित्वका रूपमा बुझ्न नहुने तर्क गरेका छन्। उनीहरूले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै चलचित्रलाई समग्र रूपमा हेरेर मूल्याङ्कन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
यद्यपि, शिक्षक संघ–संगठनहरूले संवेदनशील पेशा र समुदायको चित्रण गर्दा सिर्जनाकर्ताले सामाजिक जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले विवादित गीत हटाउन र भविष्यमा यस्ता सामग्री निर्माण गर्दा पेशागत मर्यादाप्रति संवेदनशील हुन चलचित्र निर्माण पक्षलाई आग्रह गरेका छन्।
प्रकाशित: १ श्रावण २०८३ १९:२३ शुक्रबार