कला/साहित्य

शब्दविम्बमा जेल-संघर्ष

पुस्तक

सामन्ती राज्यव्यवस्था लादिएको हाम्रो समाजमा शोषण, अन्याय, अत्याचार, असमानता व्याप्त छ। यसका विरुद्ध केही त गर्नैपर्छ। यसका लागि समाजका आम किसान एकजुट भई आवाज उठाउनैपर्छ। सामुहिक संघर्ष र आवाजविना त स्वतन्त्रता सम्भव छैन। पिस्करका स्थानीय जनताका यिनै र यस्तै आवाज, एकता, संघर्ष, त्यस क्रममा भोग्नुपर्ने यातना, पीडा, अन्त्यमा मुक्ति र परिवर्तन आदिका विषयमा लेखिएको पुस्तक हो– जेलभित्रका संघर्ष। यसका लेखक हुन्– सरेश नेपाल। लेखकले पुस्तकको भूमिकामा ‘अहिले हामी जुन राजनीतिक स्वतन्त्रता भोगिरहेका छौं, यो परिवर्तन सजिलै प्राप्त भएको छैन, यसमा धेरै कठिन संघर्ष र बलिदान जोडिएको छ’ उल्लेख गर्नुले पनि थप प्रस्ट पार्छ।

प्रस्तुत पुस्तक तत्कालीन सामन्ती राज्यव्यवस्थाले पिँडाजाभित्र राखेका नेपाली जनताको स्वतन्त्र रूपमा आफ्नो र सिंगो मुलुकका जनताको भविष्य सुन्दर बनाउन समर्पितहरूको आवाज हो। तिनै आवाजलाई विभिन्न शीर्षक दिएर लेखकले प्रस्तुत गरेका छन्। जेलभित्रका संघर्ष ३० वटा शीर्षकमा प्रस्तुत गरिएको गद्य संग्रह हो।

यस गद्य संग्रहको श्रीगणेश ‘पिस्कर हत्याकाण्डमा म थिइनँ’ शीर्षकबाट सुरु हुन्छ। आफ्नै गाउँघरमा भएको ‘पिस्कर हत्याकाण्ड’ को प्रत्यक्षदर्शी हुन नपाए पनि यस घटनामा के–के भयो भन्ने चासो र खोजी निकै हुन्छ भन्ने देखाइएको छ। लेखकले उपचारार्थ काठमाडौंस्थित वीर अस्पताल ल्याइएका घाइते भएकाहरूको खोजी, तिनको अवस्थाका बारेमा सोधखोज गरी पत्रिकामार्फत जनसमक्ष पु¥याएका छन्।

‘दोषविनाको जेलयात्रा’ मा कार्यालयमा काम गरिरहेको व्यक्तिलाई अकारण पक्राउ गरेर जेल चलान गरेको, त्यहाँ भोग्नुपरेको असहज अवस्था र प्रहरीसँगको द्वन्द्वलाई देखाइएको छ। ‘जागिर र जेलको सम्बन्ध’ मा जेल परेपछि जागिर छुट्दा भाइ पढाइबाट वञ्चित भएको, घर व्यवहार चलाउन कठिनाइ परेको देखाइएको छ। सामान्य जीवनयापन गर्ने परिवारका लागि सानो जागिरले ठुलै भरथेग गरेको हुन्छ। जीवन निर्वाहका लागि जागिर हो तर समाजको समुन्नतिका लागि जीवन समर्पित हुनुपर्छ भन्ने सन्देश लेखकले दिएका छन्।

‘शब्दबिम्बमा पिस्कर काण्ड’ मा नेपाली कम्युनिस्ट आन्दोलनभित्र तत्कालीन सामन्ती व्यवस्थाले लादेको सामाजिक व्यथितिबाट मुक्त हुनका निम्ति उठेका आवाज वा शब्दबिम्ब पिस्कर हत्याकाण्ड हो भन्ने देखाइएको छ। पिस्करजस्तो ग्रामीण समाजका जनताले स्वतन्त्रताको जुन आवाज उठाएका छन्, त्यो नेपाली कम्युनिस्ट आन्दोलनमा ‘पिस्कर हत्याकाण्ड’ रूपमा सदैव स्थापित रहने छ।

‘जेलभित्रका शब्दचित्र’ मा जेल यातनालय होइन सुधार गृह हो भन्ने दृष्टान्त रहे पनि जेलको अवस्था यसको ठीक विपरीत छ भन्ने देखाइएको छ। यस पाठमा पिस्कर घटनाका नाममा पक्राउ गरिएका अधिकांशलाई जेलभित्र राखिएको, उनीहरूको जीवन नरकमय तुल्याइएको देखाइएको छ। लेखकले सेन्ट्रल जेल र वीरगन्ज जेलभित्र भोगेका पक्षलाई प्रस्तुत गरेका छन्, जुन कारुणिक छ। जोकोही पाठकका मन पग्लिन्छ। यस पाठले जेल जहाँका पनि यातनालय हुन् भन्ने स्पष्ट पार्छ। चुपचाप बसेर मुक्ति पाइन्न संघर्ष गर्नुपर्छ भन्दै केही माग राखेर थालेको सातदिने अनसनका क्रममा भोगेका भोगाइ यहाँ प्रस्तुत गरिएको छ।

‘बमकाण्डको प्रभाव’ मा २०४२ साल असार ५, ६ र ७ गते राजदरबारको ढोका, राष्ट्रिय पञ्चायतको अधिवेशन भवनलगायत देशका विभिन्न भगमा बमविस्फोट भएको र त्यस घटनाले विद्रोहीहरू समातिए नै, पञ्चायतका मानिससमेत जेलनेल परेका, रामराजाप्रसाद सिंह र उनका पक्षधरका मानिस जेल परेका र त्यस घटनाले विश्वभर तरंग ल्याएको उल्लेख गरिएको छ। यसमा राजतन्त्रविरुद्ध लक्षित घटनालाई उल्लेख गरिएको छ।  

‘परीक्षा दिन गरेको संघर्ष’ मा जेलमा राखिएका विद्रोहीहरूलाई छुटुवा पुर्जीमा सही गराउने र थुनुवा पुर्जी थमाएर फेरि जेल हाल्ने जेलर र उनका हाकिमहरूको चरित्र र तिनका व्यवहारले लेखकका मनमा उठेका विद्रोही भावलाई प्रस्तुत गरिएको छ।

‘जेल जीवन र चाडपर्व’ ‘बर्मा गए कर्म सँगै’ भन्ने उखानजस्तै घर र समाजबाट टाढा हुनुपर्दा पनि चाडपर्व भने सँगै रहन्छ भन्ने सन्देश यसमा पाइन्छ। जेल जीवन बिताइरहेका विद्रोहीहरूलाई पनि चाडपर्वले जोडेको, मानसिक रूपमा आफ्नो समाज र घरपरिवारमै पु¥याएको अनि दिदीबहिनीहरूले जेलमै आएर तिहार मनाइदिएको आदि विषयलाई यसमा प्रस्तुत गएिको छ। मानिस घरपरिवारबाट धेरथोर समय टाढा हुन सक्छ, तर चाडपर्वबाट कहिल्यै टाढा हुँदैन भन्ने सन्देश दिइएको छ।

‘पञ्चायती व्यवस्थाप्रतिको विकर्षण’ मा जनमत संग्रहपछि पञ्चायत सुधारिएको देखाइए पनि जनतामा स्वतन्त्रताको चाहना र पञ्चायतप्रतिको विकर्षण बढिरहेको देखाइएको छ  जनताप्रतिको दमन र उनीहरूका चाहना अन्तर्राष्ट्रिय जगतसम्म पुगेको पनि यसमा प्रस्तुत गरिएको छ।

‘अपराधीहरूको दोस्रो चरित्र’ मा सबैतिर झगडा र त्यसबाट बच्नका लागि गर्नुपरेका संघर्षका बारेमा देखाइएको छ। जेलभित्र राजबन्दी पुग्छन्, अपराधी पुग्छन्, डाँका पुग्छन्, हत्यारा पुग्छन् र तिनीहरूबिच खाँदाखाँदै झगडा, सुत्दासुत्दै झगडा, उठ्दा पनि झगडा, दिनमा झगडा, राती झगडा जतिखेर पनि झगडा भइरहँदा जीवन तनावपूर्ण बन्छ भन्ने देखाइएको छ। पुराणहरूमा व्याख्या गरिएको नर्कको एउटा प्रतिरूप यस पाठमा पाइन्छ।

विचारका तीन तह हुन्छन्– निम्न, मध्यम र उपल्लो। समाजमा परिवर्तन ल्याउन हिँडेकाहरूको विचार उपल्लो तहको हुन्छ। यस्ता मानिस उच्च निर्णय लिन्छन् र  त्यसलाई पूरा गरेरै छाड्छन्। यस क्रममा जेजे विपत् आइपरे पनि हार्दिकतापूर्वक स्विकार्छन् तर आफ्नो निर्णयबाट टसमस हुँदैनन् र आफूलाई स्पातका रूपमा उभ्याइरहन्छन्। पुस्तकमा भनिएको छ, ‘म मुलुकको भविष्य सुन्दर बनाउनका लागि समर्पित हुने हो’, ‘अत्याचारी संरचना भएको समाजमा सत्य र न्यायको बाटोमा हिँड्न कठिन नै हुन्छ’, ‘यो बाटो निकै कष्टकर छ भनेरै हिँडेका हौं। यहाँ मृत्यु, यातना स्वाभाविक हुन्छ भनेरै यो जँघार तर्ने हिम्मत गरेका हौं।’ लेखकका यी भनाइ र जीवन यात्राले पनि थप प्रस्ट हुन्छ।

पुस्तक पठनीय छ। घटनामा आधारित विषयवस्तुलाई सामान्य पाठकले पनि बुझ्ने किसिमले सरल शब्दमा प्रस्तुत गरिएकाले बोधगम्य छ। अमृत बोहोराको भनाइअनुसार पुस्तकका विषयवस्तु मनोगत र काल्पनिक नभएर यथार्थ घटनामा आधारित भएकाले तत्कालीन समाजको सजीव चित्र यसमा पाइन्छ। यसकारणले संग्रहणीय पनि छ। यसमा समाज, संस्कृति, परिवर्तनका स्वर, राजनीतिक घटनाक्रमलाई समेटिएकाले रुचिकर छ। लेखक राजनीतिक नेता हुन् नै, लेखक पनि हुन् तर त्यसको छाया कतै परेको छैन। शुद्धाशुद्धिमा सामान्य त्रुटि भेटिन्छ, तर सग्ला चामलको डालोमा एकदुई मुठी कनिकाको ख्यालै हुँदैन। समग्रमा हेर्दा लेखकले पाठक र विषयवस्तुलाई न्याय दिएका छन्, यही नै उनको लेखकीय क्षमता हो।

 

प्रकाशित: १७ माघ २०८२ ११:०६ शनिबार