कला/साहित्य

सिद्धान्तनिष्ठ ‘याम सर’

व्यक्तित्व

लोकतन्त्रमा बिर्सन नहुने नाम हो - याम भण्डारी अर्थात् जनबोलीका ‘याम सर’। उहाँ बौद्धिक नागरिक मात्र नभई राजनीतिक तथा सामाजिक परिवर्तनको हुटहुटी बोकेका क्रान्तिकारी व्यक्ति पनि हुनुहुन्थ्यो।

सामन्ती वर्गका कट्टर विरोधी तर गरिब, किसान, मजदुर तथा विद्यार्थीका असली मित्र बन्नुभयो। झापाको एक रमणीय गाउँ शान्तिनगरमा जन्मेर, हुर्केर र पढेर मुलुकको मुहार फेर्ने सपना बोक्नुभएका यामसर २०८३ जेठ २९ गते ८१ वर्षको उमेरमा अस्ताउनुभयो। झापा, धुलाबारीको निन्दामा अन्तिम बिदाइ गर्न पुगेका जनसागर उहाँका संघर्ष तथा बलिदानप्रतिको अपार श्रद्धाका एक दृष्टान्त थियो।

लोकतन्त्र उहाँको सम्झौताविहीन लक्ष्य थियो। निरंकुश शासकका लागि विद्रोही हुनुहुन्थ्यो। ज्यान जोखिममा राखेर हुकुमी शासनविरुद्ध डटेर लड्ने एक सशक्त व्यक्ति बन्नुभयो। राज्यद्वारा गरिएका अकल्पनीय यातनाको गम्भीर सिकार बने पनि हतास नहुने मानिसको पहिचान बनाउनुभयो। सिद्धान्तमा सम्झौता नगर्ने प्रेरणादायी पुरुष बन्नुभयो। पञ्चायती शासकले लगाएको राजकाज मुद्दामा फाँसी चढ्न स्वीकार्य थियो तर झुक्न तयार हुनुभएन। नेपाली कांग्रेसद्वारा प्रजातन्त्र सेनानीबाट सम्मानित एक असल नागरिक हुनुहुन्थ्यो यामसर।

राजा महेन्द्रको शासनमा भद्रपुर–मेची पुल निर्माणार्थ जनताबाट उठाएको करिब २३ लाख रकम पञ्चले २०२८ सालमा दरबारलाई खुसी पार्न युवराज वीरेन्द्रलाई चढाए। त्यतिबेला यो निकै ठुलो धनराशि मानिन्थ्यो। जनतामाथि भएको यो धोकाविरुद्ध कांग्रेसनिकट विद्यार्थी नेता यामसर, दिव्य भुर्तेल, शिव भुर्तेल लगायत विरोधमा उत्रिए। यसविरुद्ध भारतको सिलिगुडीबाट ‘पर्चा’ छापेर बाँडे पनि। यसलाई आधार बनाएर यामसर र भुर्तेल बन्धु गिरफ्तारीमा परे। राजकाजको मुद्दा चलाइयो। यसबाट फाँसी हुन सक्ने सम्भावना पनि थियो। तथापि तिनले माफी मागेनन्। कठोर यातनासहित जेल सजाय भोगेर पछि छुटे।

राजद्रोहको साविती र अन्य सूचना लिन यामसरलाई जेलखानाको ‘सेफ्टी ट्यांक’मा डुबाउनेजस्ता अमानवीय र अपमानजनक व्यवहार तथा यातना दिइयो। त्यसबाट पनि उहाँ विचलित हुनुभएन। शारीरिक रूपमा केही होचो भए पनि लोकतन्त्रप्रति उहाँको निष्ठा हिमालभन्दा उच्च थियो। उहाँको जीवन संघर्षको पर्याय बन्यो। चार वर्षको जेलजीवन अत्यन्तै कष्टमय रहेको यथार्थता चन्द्र भण्डारीले (कान्छा भाइ) यामसरका सहयात्री गोपाल भुर्तेलसँग लिएको एक अन्तर्वार्तासमेतमा खुलेको छ।

यामसरलाई नजिकबाट बुझ्ने अवसर २०४६ सालको पञ्चायतीविरुद्ध जनआन्दोलनमा सहभागी हुन गृहजिल्ला झापा गएपछि मिलेको हो। त्यसबेला आन्दोलनको पूर्वसन्ध्यामा प्रहरी नियन्त्रणमा पर्नुभयो। धुलाबारी प्रहरी चौकीको हिरासतमा उहाँलाई राखिएको कोठा बाटोछेउमा परेकाले छोटो संवाद भयो। विगतका यातनाका दिन सम्झेर होला उहाँको अनुहार मलिन थियो। उहाँलाई यातना नदिन चौकीप्रमुख तथा जिल्लाका हाकिमसमक्ष खबरदारी ग¥यौं। एक शिक्षक भएकाले विद्यालयको पहलमा केही दिनपछि उहाँ रिहा हुनुभयो।

झापा पुग्दा धुलाबारीस्थित उहाँको निवासमा म प्रायः जाने गर्थें। लोकतन्त्र तथा सामाजिक न्यायप्रति उहाँको निष्ठाले मलाई आकर्षित गर्थ्याे। एक सशक्त र स्पष्ट वक्ताको पहिचान बनाएर अन्यायविरुद्धको आवाज बन्नुभयो यामसर। हक्की स्वभावका उहाँ पार्टीको प्रतिबन्धित अवस्थामा पनि पेसालाई दाउमा राखेर निरंकुश पञ्चायतविरुद्ध लड्नुभयो। नेपाली कांग्रेसका सिद्धान्तप्रति अविचलित रहनुभयो।

नेपाली कांग्रेस निकट यामसर, भरत भुर्तेल, गोपालकुमार बस्नेतलगायतसँग नागरिक समाजका केही व्यक्ति, खासगरी छविलाल खतिवडा, हरिश श्रेष्ठ, तारा बराल, कृष्ण धरावासीसमेत नागरिक स्तरका प्रयासमा नियमित सम्पर्कमा थियौं।

यही क्रममा कांग्रेसका नेता सिके प्रसाईं, रामबाबु प्रसाईं (झापा सभापति), भूविक्रम नेङमाङ, नरेन्द्र नेङमाङ, बैरागी काइँला, परशुराम भण्डारी (उपसभापति विश्वप्रकाशका बुबा) सँग पनि सम्पर्कमा थियौं। विशेषतः कृष्णप्रसाद सिटौला भूमिगत भए पनि नागरिक समाजसँग पत्राचारद्वारा निरन्तर सम्पर्कमा थिए।

त्यतिबेला सिटौलालाई भेट्न सहज थिएन। याम सरका शान्त तर निडर छोरा शरद्ले भेट गराउन सहयोग गरे। एक झिसमिसे बिहानीमा सेनाको नियन्त्रणमा रहेको चारआली जंगलको लामो बाटो पैदल हिँडाएर खालबाडीस्थित तुलसी उप्रेतीको आश्रय घरमा उनले पुर्‍याए। वातावरण जोखिमयुक्त थियो। सिटौला प्रशासनको सर्वाधिक खोजीको सूचीमा थिए। संयोगवश हामी कुशलतापूर्वक पुग्यौं। उनीसँग करिब एक घण्टाको कुराकानीपछि सोही बाटोबाट फर्कियौं। सभापति रामबाबु प्रसाई जेल परेकाले आन्दोलनको नेतृत्व उपसभापति सिटौलाको काँधमा थियो।

२०६२÷६३ को जनआन्दोलनमा म काठमाडौंमा सक्रिय रहेकाले यामसरको झापामा कस्तो भूमिका रह्यो, साक्षात्कार भएन। त्यसअघिका भेटमा कांग्रेसको गतिविधिप्रति उहाँ सन्तुष्ट भएको पाइएन। बढी आध्यात्मिक भएको पाएँ। गुटका कब्जामा रहेको कांग्रेसले कुशल र इमानदार कार्यकर्तालाई पन्छाएकाले यसको भविष्य जोखिमपूर्ण रहने उहाँको ठम्याइ थियो।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा कांग्रेसका झापा सभापति सुधिर सिवाकोटी, क्षेत्रीय सभापति उद्धव थापा र ट्रेड युनियनका अध्यक्ष दीपक तामाङलाई चारआली ब्यारेकमा दिइएको गम्भीर यातनाप्रति कांग्रेसको मौनतामा उहाँको असन्तुष्टि थियो। यो विषय राष्ट्रसंघीय मानवअधिकार परिषद्को प्रतिवेदनसमेतले उठाएर सरकारको ध्यानाकर्षण गराएको थियो। नेतृत्व तहमा रहेका त्रय यातना पीडितले भने यस प्रकरणलाई गम्भीरतासाथ लिएनन्। दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएनन्। यसलाई राजनीति ठानेर दण्डहीनतालाई प्रश्रय दिए।

यातनालाई हाम्रो समाज, दल तथा सरकारले समेत गम्भीर रूपमा लिएका छैनन्। जबकि यो अन्तर्राष्ट्रिय अक्षम्य अपराधको परिभाषामा पर्छ। उदाहरणका लागि सशस्त्र द्वन्द्वकालमा गोरुसिंहे, कपिलवस्तुमा जनक राउतसमेतलाई सैनिक ब्यारेकमा चरम यातना दिएका कर्नेलकुमार लामा बेलायतमा पक्राउ परेर चार वर्ष मुद्दा खेपे। उनलाई छुटाउन राज्यले पचास करोड रकम छुट्याएको समाचार आएको थियो। नेपालमा फौजदारी कानुनी दायरामा उनी नपरेकाले ‘अन्तर्राष्ट्रिय न्यायिक क्षेत्राधिकार’ अन्तर्गत गिरफ्तार भएका थिए।

एक बहालवाला मन्त्रीको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति सामान्य ठानिन्छ। सांसदहरूसमेत यस अभिव्यक्तिको बचाउमा लाग्छन्। यस्तो गम्भीर त्रुटिलाई मन्त्रीले हल्का ढंगले संसद्को रोस्ट्रमबाट जवाफ दिन्छन्। सरकारका एक जिम्मेवार मन्त्रीका यस्ता अभिव्यक्तिले के सन्देश दिएको छ? सोचौं।

कानुन मिचेर सुकुम्बासी बस्तीमाथि डोजर चलाउने र नागरिकलाई बिचल्ली पार्ने कस्तो राज्य सञ्चालन शैली हो? ‘होल्डिङ सेन्टर’लाई यातनागृह तुल्याउँदा पनि किन संवेदनशील हुँदैन सरकार? प्रधानमन्त्रीकै आदेशमा एक बहालवाला सचिवलाई दिनभर हिरासतमा राखेर मानसिक यातना दिनुको अर्थ के हो? संवैधानिक निकायका अख्तियार प्रमुखलगायतलाई प्रधानमन्त्री सचिवालयमा डाकी त्रास एवं धम्कीबाट एक कर्मचारीलाई पक्राउ गर्न गरिएको दबाब कुन शासन शैलीको प्रतिबिम्ब हो?

जंगल अतिक्रमणको हास्यास्पद तर्कबाट वनकर्मचारीलाई ‘भिरबाट टेम्पो खसाल्नु’ कुन आँटले दियो? नागरिकका घरका छानामाथि सरकारी बर्दीधारीले ढुंगा बर्साउन कसरी साहस जुटाए? विद्यार्थीका मोबाइल पानीमा डुबाएर कसलाई बहादुरी देखाएको हो? सिन्धुलीका कृष्ण विकको प्रहरी हिरासतमा रहस्यमय मृत्यु किन भयो? केही दिनअघि कविलासी, सर्लाहीका विक्रम यादवलाई प्रहरीले क्रूर यातना कसको मनोबलबाट दियो? राज्य कुन चरित्र बोकेर अघि बढ्दै छ? विचार गरौं।

यामसरप्रति भावपूर्ण श्रद्धाञ्जली !  

प्रकाशित: ६ असार २०८३ ०७:५६ शनिबार