राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा अझ कसरी थप योगदान पुर्याउन सक्छ भन्ने विषयमा सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने भएकाले यसतर्फ गम्भीर रूपमा सोच्नुपर्ने बताए।
राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सूक्ष्म ढंगले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताए। यसका लागि प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई कुनै पनि हालतमा कमजोर हुन नदिन चलचित्रकर्मीलाई उनको सुझाव थियो।
उनले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, रूपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने तथा हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने सशक्त माध्यम भएको बताए। हिमाल, पहाड र तराईको प्रकृति तथा सामाजिक जीवनलाई चलचित्रमार्फत देशभित्र मात्र नभई विश्वमञ्चसम्म चिनाउन सकिने भएकाले यो साझा राष्ट्रिय पहिचान निर्माणको आधार पनि भएको उनले स्पष्ट पारे।
राष्ट्रपति पौडेलले बदलिँदो परिवेशअनुसार नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरेर चलचित्र उद्योगलाई नयाँ उचाइँ दिन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे। यसका लागि कलाकार मात्र नभई चलचित्र उद्योगसँग सम्बन्धित सबै सरोकारवालाको योगदानको उचित कदर गर्नुपर्ने र यही क्षेत्रमा आत्मसम्मानसहित भविष्य सुरक्षित छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने उनको भनाइ थियो।
प्रविधिको विकासले चलचित्र उद्योगको स्तरोन्नतिमा ठूलो योगदान दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, 'डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्मका काममा सहजता ल्याएको छ। यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार जोगाउनुपर्छ भन्ने विषयमा सचेत रहन आवश्यक छ।'
राष्ट्रपति पौडेलले चलचित्रका पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा समेटिऊन् भन्ने आफ्नो अपेक्षा रहेको स्पष्ट पारे। उनले भने, 'किनभने जब हरेक नेपालीले आफ्नो कथा पर्दामा देख्छ, तब चलचित्र साँच्चिकै राष्ट्रिय बन्छ।'
सो अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो।
प्रकाशित: ५ असार २०८३ १३:१६ शुक्रबार