कला/साहित्य

एडिलेड नेपाल फेस्टिभलको उद्घाटनमा प्रिमियर आउने, राज्य सरकारको ३० हजार डलर सहयोग

नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।

आगामी नोभेम्बर २८ तारिख एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को उद्घाटन समारोहमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस आउने भएका छन्। एनआरएनए साउथ अस्ट्रेलियाले पत्रकार सम्मेलन गर्दै फेस्टिभलमा पहिलो पटक प्रिमियर प्रमुख अतिथिको रूपमा सहभागी हुने जनाएको हो।

नेपाली कला, संस्कृति, भाषा, परम्परा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना हुँदै आएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले यस वर्षको फेस्टिभलमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस पहिलोपटक प्रमुख अतिथिका रूपमा सहभागी हुनु नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। कार्यक्रममा बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सीसहित स्थानीय सरकारका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहने उनले जानकारी दिए।

गुरुङका अनुसार दक्षिण अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक अनुदान कार्यक्रमअन्तर्गत फेस्टिभलका लागि ३० हजार अस्ट्रेलियन डलर सहयोग प्राप्त भएको छ। यस वर्षको महोत्सव सञ्चालन तथा व्यवस्थापनमा १ लाख ७० हजार अस्ट्रेलियन डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। हालसम्म करिब ९० प्रतिशत तयारी पूरा भइसकेको र १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको उनले बताए।

फेस्टिभलमा नेपाली राष्ट्रिय कलाकार रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने अन्य कलाकारहरूको नामावली पनि चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

२० उपसमिति परिचालित, सुरक्षा र व्यवस्थापनमा विशेष जोड

ठूलो संख्यामा दर्शक तथा समुदायका सदस्य सहभागी हुने अपेक्षा गरिएको फेस्टिभललाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न २० वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।

एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक तथा नेपाल फेस्टिभल २०२६ का कार्यक्रम संयोजक गणेश पराजुलीले सबै उपसमितिले आ–आफ्नो जिम्मेवारीअनुसार तयारी र समन्वयका काम गरिरहेको जानकारी दिए। उनले कार्यक्रम व्यवस्थापन, स्वयंसेवक परिचालन, सुरक्षा, मञ्च व्यवस्थापन तथा अन्य आवश्यक पक्षलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।

पराजुलीका अनुसार फेस्टिभललाई सफल बनाउन आयोजकसँगै विभिन्न संघसंस्था, व्यवसायी, प्रायोजक र समुदायका सदस्यहरूको सहकार्य महत्वपूर्ण रहेको छ। सबै पक्षको सक्रिय सहभागिताबाट महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

नेपाली नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्दै अस्ट्रेलियाली तथा अन्य अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको मौलिक पहिचान प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा नेपाल फेस्टिभललाई लिइएको छ।

आयोजकले साउथ अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी तथा नेपाली संस्कृतिप्रति चासो राख्ने अस्ट्रेलियाली र अन्य समुदायलाई नोभेम्बर २८ मा टोरेन्स परेड ग्राउन्डमा उपस्थित भई महोत्सव सफल बनाउन आग्रह गरेको छ।

प्रकाशित: १५ कार्तिक २०८३ ०९:३३ आइतबार