अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यू इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुन लागेको छ। कार्यक्रममा ‘सुनियान सुनियान’ गीतका चर्चित पञ्जावी गायक मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका छन्।
नेपालमा आएका उनको स्वागतका लागि बिहीबार साँझ लाजिम्पाटस्थित होटल मनास्लुमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रममा गायक मिक्ससिंह जसले नेपालमा दर्शकहरूलाई झुमाउन उत्साहित रहेको बताए। शनिबार साँझ ठमेलस्थित क्लब नोभामा कार्यक्रम सञ्चालन हुनेछ, जहाँ पञ्जाबी भांगडा डान्ससहित १० वटा प्रस्तुती रहने जानकारी दिइएको छ।
पञ्जाबी पप नाइटको आयोजना स्किलमाण्डु नेपालले गरेको हो। कार्यक्रममा जनरल दर्शकका लागि टिकट १ हजार रुपैयाँ, भिआइपी २ हजार रुपैयाँ र समूहका लागि ५ हजार रुपैयाँ दर तय गरिएको छ। पत्रकार सम्मेलनमा गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटन प्रवर्द्धनका लागि आफ्नो भ्रमण विशेष हुने जानकारी पनि दिएका थिए।
उनी भने, “मेरो सुपरहिट गीत ‘सुनियान सुनियान’मा करिब ३० प्रतिशत प्रतिक्रिया नेपाली फ्यानबाट आएकोले नेपाल आउनको इच्छा बढेको हो। अबको तीन दिन नेपाल बस्दा म पशुपतिनाथ दर्शन, काठमाडौंका पुरातात्विक सम्पदा र सगरमाथा बेस क्याम्प घुम्ने योजना बनाएको छु। यहाँको मौसमले साथ दिन्छ कि दिन्न, त्यसले मेरो सगरमाथा हेर्ने सपना निर्धारण गर्नेछ।”
यस्तै, उनले नेपाली गीत सुन्ने रुचि बढेसँगै नेपाली संगीतप्रति झुकाव पनि बढेको बताए। आगामी गीतको छायांकन नेपालमा गर्ने र ट्युनिङ मिल्ने खण्डमा नेपाली संगीतकार तथा गायक/गायिकासँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्। उनी नेपालको पर्यटन प्रवर्द्धनमा समेत सक्रिय सघाउन इच्छुक रहेको र त्यसका लागि संगीत उत्कृष्ट माध्यम रहेको बताए।
प्रकाशित: ११ पुस २०८२ १६:५० शुक्रबार