मुलुकको राजनीतिक परिवर्तनमा एउटा गीत जबर्जस्त सन्देश लिएर आयो– ‘गरिबको चमेली बोल्दिने कोही छैन।’ यो ‘राल्फा’को नाममा २०२३ सालमा जन्मिएको एउटा सांगीतिक समूहको चर्चित गीत थियो। त्यही समूहले २०२८ सालमा यो गीतको लोकलय रामेछाप जाँदै गर्दा फेला पारेको थियो।
गरिबको चमेली २०५० तिर ‘बलिदान’ चलचित्रको गीत बनेर आयो। त्यतिबेला मुलुकमा प्रजातन्त्र आइसकेको थियो। जुन गीतले मुलुकमा प्रजातन्त्र ल्याउन योगदान गर्यो, त्यो गीत खुला समयमा चलचित्रमा समेटिनु अस्वाभाविक होइन।
देशमा लोकतन्त्रको उज्यालो आइरहेका बेला चलचित्रमा गीतको प्रवेश भनेको विगत दिनका समस्या समाधान गर्दै नयाँ दिनको स्वागत गर्नु हो। गरिबको चमेली भविष्यमा गाउनु नपर्ला भन्ने सिनेमा निर्माताहरूले पक्कै सोचेको हुनुपर्छ।
गीतको लय उही हो। नागरिकको जीवनमा भने परिवर्तन आएन। त्यही गीतलाई र्यापशैलीमा गाउने कलाकार यतिबेला मुलुकको प्रधानमन्त्री बनेका छन्। ‘गरिबको चमेली’ले समाजलाई उद्वेलित गर्न छाडेको छैन। हो, प्रधानमन्त्री बालेन्द्र शाहले यो गीत फेरि गाए। समाजमा देखिएको असमानतालाई यो गीतले बोकेको छ।
प्रधानमन्त्री बालेन्द्रले यो गीत आफू पढ्ने स्कुलमा सुनेका थिए। रामेशले हामीलाई बताएअनुसार उनको स्कुलमा कार्यक्रम गर्न गएका थिए। सम्भवतः त्यहीबेला यो गीतको भावले छोएपछि आफ्नो र्यापर जीवनमा यसलाई गाउनु उपयुक्त ठानेँ।
त्योबेला राल्फा समूहका सदस्य हुन्– मेघराज शर्मा नेपाल (मञ्जुल), हरि श्रेष्ठ (नोरेम), खगेन्द्र बस्नेत (सिमोस), निरञ्चन चापागाईं (निनु), नारायणभक्त श्रेष्ठ (रायन), रामेश्वर श्रेष्ठ (रामेश), अरुण–ऋषि–मनोज (अरिम)। राल्फालाई उचाइमा पुर्याउने श्रेय भने रामेश र मञ्जुलबिचको भेटले गरेको हो। कालान्तरमा समूह छिन्नभिन्न भए पनि मुलुकको राजनीतिक परिवर्तनमा यसले खेलेको भूमिका अतुलनीय छ।
मुलुकको राजनीतिक परिवर्तनमा साहित्य, गीत–संगीत र सिर्जनाको अतुलनीय योगदान छ। यी कहिले गीतका रूपमा, कहिले कविताका रूपमा र अन्य सिर्जनाका रूपमा प्रतिविम्बित भएका छन्।
१९७७ साउन ११ गते यो मुलुकमा यस्ता पात्र पक्राउ परे, जसको अपराध भन्नु नै किताब लेख्नु थियो। पुस्तकको नाम थियो– ‘मकैको खेती।’
हो, सुब्बा कृष्णलाल अधिकारी ‘मकैको खेती’ नामक पुस्तक प्रकाशन गरेका कारण पक्राउ परे। हजार प्रति पुस्तक छापिएका भए पनि नौ सय ९९ वटा जलाइयो। एउटै पुस्तक कतै बाहिर रहेको ठानिन्छ।
यही पुस्तक लेखेका कारण उनले नौ वर्ष जेलमा बस्नुपर्यो। उनको मृत्यु जेलमै भयो। उनले पुस्तकमा राणाहरूलाई ‘रातो टाउके’ र ‘कालो टाउके’ किराका रूपमा चित्रण गरेका थिए। जनतालाई ‘मकै’का रूपमा उल्लेख गरिएको ठानिन्छ। यिनै सुब्बा कृष्णलाललाई ‘प्रथम सांस्कृतिक सहिद’ पनि मानिन्छ।
उनको पुस्तक नभेटिए पनि श्रुति परम्पराबाटै त्यसमा के लेखिएको थियो भनेर पछिसम्म चर्चा रह्यो। नेपाली समाजलाई उनको त्यो कृतिले उद्वेलित गर्यो। त्यति मात्र होइन, यसैको पृष्ठभूमिमा पछि राणाशासनविरुद्ध २००७ सालको क्रान्ति सम्पन्न भयो।
नेपाललाई आधुनिकताको ढोका खोल्ने काम सात सालको क्रान्तिले गर्यो। यहींबाट मुलुकले लेखपढ र अभिव्यक्ति गर्न अवसर प्राप्त भयो। हिजो राणाहरूको दबदबामा रहेका सर्वसाधारणले मुलुकमा उन्मुक्त वातावरण प्राप्त गरे।
राणा शासनको अन्त्यका निम्ति राजा, नेपाली कांग्रेस, वामपन्थी दल र जनताले संघर्ष गरेका थिए। राजालाई कतिसम्म अँध्यारोमा राखिएको थियो भने तिनले ‘के हाम्रा प्रजा दुधभात पनि खान पाउँदैनन्?’ भन्ने अवस्थामा पुर्याएका थिए। तिनले पनि लुकीलुकी जनतासँग सम्पर्कमा गएर मुलुकको परिस्थिति बुझ्नुपरेको थियो।
प्रजातन्त्र प्राप्त भएपछि पनि मुलुकमा स्थिरता नभएको भाष्य सिर्जना गरियो। लोकतन्त्रमा दलहरूबिच वाद, विवाद र प्रतिवाद हुन्छन्। त्यसलाई नै अस्थिरता भन्नु जरुरी थिएन। सरकार परिवर्तन भइरहनु पनि अस्थिरता होइन। सरकार परिवर्तन भइरहन्छन्। तर, मुलुकको स्थायी संरचनाले काम गरिरहेको हुन्छ।
२०१५ सालमा निर्वाचन भयो। नेपाली कांग्रेसले दुई तिहाइभन्दा बढी स्थानमा विजय हासिल गर्यो। त्यो अवस्थाको सरकारले क्रान्तिकारी काम गर्थ थाल्यो। १५ महिनामै सरकारले आक्रामक ढंगले देश भित्र र बाहिर काम गरेको थियो। अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्ध बढाएको थियो।
२०१७ पुस १ गते मुलुकमा प्रजातन्त्रको अन्त्य भयो। राजा महेन्द्रले सत्ता हातमा लिए। मुलुकमा पञ्चायती शासन व्यवस्था सुरु भयो। दलहरू प्रतिबन्धित भए। यो क्रम २०४६ चैत २६ को रातिसम्म चल्यो।
यसबिच स्वतन्त्रताका निम्ति अनेकन् संकेतमा साहित्य सिर्जना भइरहे। कविता क्रान्ति भए। बुटपालिस, सडक कविता, अस्वीकृत, राल्फा, आयामेलीजस्ता अनेकन् आयामले स्वतन्त्रताको धिपधिपे बत्ती जलाइरहे। देशभित्रको साहित्य मात्र होइन, अन्तर्राष्ट्रिय कृतिले पनि मानिसभित्रको क्रान्तिको ऊर्जालाई जगाइरह्यो।
पारिजात, भूपि शेरचन, वैरागी काइँला, रमेश विकलजस्ता अनेकन् साहित्यकारले स्वतन्त्रताका निम्ति अनेकन् विम्ब प्रयोग गरिरहे। विक्रम सुब्बा, कुन्ता शर्माजस्ता कविहरूको आफ्नै भाव रह्यो। कति काव्यभित्र रहेका विम्बमार्फत् आफूलाई प्रतिविम्बित गरिएको महसुस आममानिसले गर्थे। मोदनाथ प्रश्रितजस्ता लेखकका कृति नभएका भए सायदै मानिसहरू त्यति सचेत हुन्थे। ‘गाउँ गाउँबाट उठ’ भन्दै राल्फाहरूले नगाएका भए के हुन्थ्यो र?
‘यी ठुलाठुला बिल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वंशावली लेखिएका
इतिहासका नाङ्गाा पन्नाजस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यातिदेऊ....
फाटिदेऊ....
कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनुपर्छ।
एउटा विद्रोहले यहाँ
शिर उचालेर हिँड्न पाउनुपर्छ।...’
(मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित– बैरागी काइँला)
पछि विक्रम सुब्बाले लेखे– ‘जताबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ।’ कविताले क्रान्तिको चेतनालाई बोकिरहे। मानिसका पीडालाई तिनले उजागर गर्न छाडेनन्।
साहित्यका एउटा एउटा पंक्तिमा आफूलाई अभिव्यक्त गर्ने प्रसंगको खोजी हुन्थ्यो। आजजस्तो उन्मुक्त भएर जे पनि लेख्न पाइँदैनथ्यो। शासन व्यवस्थामाथि प्रश्न गर्ने छुट पनि कसैलाई थिएन। सत्ताको प्रशस्ति गाउनेलाई मान, सम्मान र इज्जत दिइन्थ्यो।
कैयन्ले लुकीलुकी यस्ता कृति लेखेर फैलाइरहेका हुन्थे। २०४६ सालको जनआन्दोलन सफल भएपछि अनेकन् कविता लेखिए। शालिक चढेका र सहिद भएकाहरूलाई अनेकन् ढंगले सम्झना गरिरहे। त्यो परिवर्तनले साहित्य सिर्जनाको ढोका खोल्यो। अनेकन् साहित्य सिर्जना भए।
वाक तथा प्रकाशन स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले हाम्रो मुलुकमा एउटा भिन्न र सहज वातावरण बन्यो। नेपाल अधिराज्यको संविधान २०४७ ले अखबारको दर्ता खारेजी नहुने र प्रेस जफत नहुने अवस्था ल्यायो। यसैले लेखन, प्रकाशन र प्रसारणमा अतुलनीय योगदान गर्यो। हिजो फुकीफुकी हिँड्नुपर्ने र शब्द चयनमा ध्यान दिनुपर्ने अवस्था रहेन। प्रतिबन्धित समयमा मात्र हो मानिसले कैयन् विषयलाई भन्नुअघि सोच्नुपर्छ। प्रजातन्त्रले निर्धक्क लेख्न र बोल्न दिन्छ।
२०४६ सालको परिवर्तनलाई पनि कम ठानियो। त्यसैकारण मुलुकमा २०५२ फागुन १ देखि ‘दीर्घकालीन जनयुद्ध’ सुरु भयो। तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धका क्रममा पनि त्यही किसिमको साहित्य, संगीत र अभिव्यक्ति आयो। त्यो आन्दोलनका निम्ति पनि त्यसैगरी गीत गाइए, जसरी विगतमा भएका थिए।
‘क्रान्तिकारी निस्क न झट्टै निस्क बन्दुक बोकेर निस्क’ भन्ने बोलका गीत आए। माओवादी गतिविधिसँगै यसका गीतहरूको पनि उत्तिकै योगदान रह्यो। तिनले आफ्नो सांस्कृतिक समूहमार्फत पनि गाउँलेलाई प्रभावित गरिरहे।
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरी प्रजातन्त्रलाई संकुचित तुल्याए। तत्कालीन शाही नेपाली सेना (हाल नेपाली सेना) समाचारकक्षसम्म पुग्यो। अखबारमा सेन्सर भयो। रेडियोमा समाचार बन्द भयो। टेलिफोन र इन्टरनेटबाट मुलुक अलग्गियो। देशमा एउटा अँध्यारो समय फेरि आयो।
त्यसपछि सुरु भयो लोकतन्त्रको आन्दोलन। २०६२/६३ को आन्दोलनका क्रममा एउटा लोकप्रिय कविताले ठुलो भूमिका खेल्यो। श्रवण मुकारुङले लेखेको त्यो कविता हो– ‘बिसे नगर्चीको बयान’। वास्तवमा मुलुक अब थप समावेशी, थप लोकतान्त्रिक बन्नतिर अग्रसर रह्यो। राजा रहुन्जेल प्रजातन्त्र मुलुकमा फस्टाउँदैन भन्ने भावनाको विकास गर्यो। मुलुकमा पटक–पटक दरबारकै कारण कहिल्यै लोकतन्त्रले मौका पाएन।
‘मालिक !
म बौलाएँ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि
आज के भयो मलाई?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ।’
(बिसे नगर्चीको बयान : श्रवण मुकारुङ)
अन्ततः देशमा लोकतन्त्रको पुनप्राप्ति भयो। मुलुक लोकतान्त्रिक गणतन्त्र बन्यो। देशमा दलहरूको शासन बलियो भयो। अब देशले फेरि लोकतन्त्रका निम्ति लड्नुपर्दैन भन्ने लागेको थियो। मुलुकमा राजा हटे पनि दलहरूले आफ्नो कामलाई थप पारदर्शी बनाउन सकेनन्। नागरिक समाजले भनेका कुरा सुन्न छाडे। हिजो नागरिक समाजले भनेको मान्छु भन्ने नेताहरूमा दम्भको बास भयो।
यसपछिका एक दशक निकै निराशाजनक भए। यो मुलुकमा नेता कहाँबाट आउलान् भन्ने भावना पनि देखिन थाल्यो। दलहरूले आफूलाई अत्यन्तै शक्तिशाली ठानेका कारण अजातशत्रु ठान्न थाले। वास्तवमा लोकतन्त्र भनेको सदैव नागरिक भावनालाई सर्वोपरि मानेर गरिने शासन हो। त्यही लोकतन्त्रमा हेर्दाहेर्दै आफैंले आन्दोलन गरेर हटाएका राजा चाहिन्छ भन्ने मागको स्थितिसमेत रह्यो।
संसारभरि ‘जेनजी’ आन्दोलनको एउटा प्रयोग भएको छ। सामाजिक सञ्जालको प्रयोगमार्फत् लोकप्रियतावादको चरमोत्कर्षमा संसार यतिबेला छ। श्रीलंका, बंगलादेश हुँदै नेपालमा पनि यो आन्दोलन आइपुग्यो। गत भदौ २३ को जेनजी अभियान र त्यसको भोलिपल्ट मुलुकमा भएको लुटपाट, आगजनी र ध्वंसबाट नयाँ परिस्थिति सिर्जना भएको छ।
कुनै निर्वाचित सरकारलाई अपदस्थ गर्ने निर्वाचनले नै हो। तर, पछिल्ला दिनमा सडकमार्फत सत्ता परिवर्तनको अभ्यास सुरु भएको छ। त्यसमा राज्यभित्रकै संस्थाहरू कति प्रयोग भएका छन् भन्ने प्रश्न पनि आफैंमा छ। लोकतन्त्रका संस्थाहरू कमजोर भएको अवस्था पनि उत्तिकै छ। यस स्थितिमा बाह्य प्रभावले कति खेल गरेको छ? समय क्रममा खुलासा हुने नै छ।
कुनै पनि मुलुकमा आउने परिवर्तन दुई किसिमका हुन्छन्– क्रान्तिबाट जबर्जस्ती (रिभोल्युसन) वा क्रमिक उद्विकास (इभोल्युसन)। हामीकहाँ उद्विकासभन्दा पनि आन्दोलनको प्रयोग निरन्तर भएको छ। प्रत्येक परिवर्तनपछि जनताका आकांक्षा चुलिन्छन्। तर, तिनको परिपूर्ति हुँदैन। त्यसपछि फेरि नागरिक सडकमा जान्छन्। त्यसैले जहिल्यै नागरिकलाई कमजोर बनाउने खेल हुन्छन्। कहिले तिनलाई लोकतान्त्रिक अधिकारबाट वञ्चित गरिन्छ, कहिले तिनका आजीविकाबाट।
अन्यथा, वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले फेरि पनि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै गाउनुपर्ने थिएन। त्यो गीतले फेरि पनि मानिसलाई आकर्षित गरेको छ। आशा छ, समयले कोल्टे फेर्ने छ। फेरि भावी पुस्ताले गाउनुपर्ने छैन– गरिबको चमेली बोल्दिने कोही छैन।
–बारम्बार भएका राजनीतिक परिवर्तनपछि पनि जनताको अपेक्षा पूरा नहुँदा फेरि आन्दोलन हुने चक्र जारी छ र ‘गरिबको चमेली’जस्ता गीत अझै सान्दर्भिक छन्।
–‘राल्फा’ समूहद्वारा लोकप्रिय बनाइएको ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीतले नेपालको राजनीतिक परिवर्तनमा शक्तिशाली सन्देश बोकेको छ।
–गीतको सन्देश समयसँगै सान्दर्भिक रहिरह्यो किनकि सामाजिक असमानता अझै कायम छ।
–वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले पनि यही गीतलाई नयाँ र्यापशैलीमा प्रस्तुत गरेका छन्, जसले यसको निरन्तर प्रभाव देखाउँछ।
–साहित्य, गीत–संगीत र सिर्जनाले नेपालको राजनीतिक आन्दोलनहरूमा महत्वपूर्ण भूमिका खेलेका छन्।
–कृष्णलाल अधिकारीको ‘मकैको खेती’ पुस्तकका कारण उनी पक्राउ परे र यसले राणाशासनविरुद्ध चेतना जगाउन मद्दत गर्यो।
–२००७ सालको क्रान्तिले नेपालमा आधुनिकता र अभिव्यक्ति स्वतन्त्रताको ढोका खोल्यो।
–पञ्चायती शासनकालमा पनि साहित्य र कवितामार्फत स्वतन्त्रताको आवाज उठाइयो, जसमा पारिजात, भूपि शेरचनजस्ता स्रष्टाहरू सक्रिय थिए।
–२०४६ सालको जनआन्दोलनपछि अभिव्यक्ति स्वतन्त्रता विस्तार भयो, जसले साहित्य सिर्जनामा ठुलो उछाल ल्यायो।
प्रकाशित: ११ वैशाख २०८३ ११:५२ शुक्रबार