अभिनेत्री नीति शाहले भ्यानिटी भ्यानसम्बन्धी आफ्नो बयानलाई लिएर उत्पन्न विवादमा लामो स्पष्टीकरण दिएकी छिन्।
सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उठाएको मुद्दालाई गायिका ज्योति मगरसहित केहीले विरोध गरेपछि उनले फेसबुकमा लामो स्टाटस राखेर सबैलाई जवाफ फर्काएकी हुन्।
मगरले आम नेपालीले सिटामोल खान नपाएको बेला भ्यानिटी भ्यान मागेको भन्दै विरोध गरेकी थिइन्। उनले मन्त्रीसमक्ष नीतिले राखेको कुरा सान्दर्भिक नभएको भन्दै आपत्ति जनाएकी थिइन्।
नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीले मन्त्रालयको तर्फबाट नेपाली चलचित्र उद्योगका समस्या र सुधारका उपायबारे छलफल गर्न निम्त्याएको बैठकमा नीतिले महिला कलाकारका लागि भ्यानिटी भ्यानको आवश्यकता औँल्याएकी थिइन्। उनले काठमाडौं बाहिर छायांकनका क्रममा भारतीय मोडेलसँगको अनुभव सेयर गर्दै भाडाको बसभित्रै कपडा फेर्नुपरेको दर्दनाक वास्तविकता सुनाएको भनेकी छन्।
‘यो सही समय र ठाउँ थियो। हामीलाई उद्योगका समस्या बोल्न बोलाइएको थियो,’ नीतिले लेखेकी छिन्। आफूले मन्त्री खरेललाई निजी निर्माण कम्पनीहरूलाई भ्यानिटी भ्यान खरिद गर्न सरकारी कर छुटको व्यवस्था गर्न सुझाव दिएको उल्लेख गरेकी छन्। यसबारे मन्त्रीले विचार गर्ने आश्वासन दिएको उनको भनाइ छ।
बयानलाई तोडमोड गरेको भन्दै नीतिले भनिन्, ‘सफा शौचालय र निजी कपडा फेर्ने स्थान विलासिता होइन, आधारभूत अधिकार हो।’ उनले गाउँ–टोलका घरमा अनुमति मागेर वा बसमा कपडा फेर्नुपर्ने बाध्यताको पीडा धेरै महिला कलाकारले भोगेको बताइन्।
‘कलाकारको गरिमा, सुरक्षा र पेसागत सम्मानसँग जोडिएको यो विषयलाई हाँसोको पात्र नबनाऔँ,’ उनले थपेकी छिन्।
यस्तो छ अभिनेत्री शाहको फेसबुक स्टाटस
हालै मेरो एउटा भनाइ सामाजिक सञ्जालमा धेरै चर्चामा आएको छ। धेरैले यसबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको देखेकी छु, त्यसैले म केही कुरा स्पष्ट गर्न चाहन्छु। हामीलाई नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसी सरले, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको तर्फबाट, नेपाली चलचित्र उद्योगका समस्या, अवसर र सुधारका उपायबारे छलफल गर्न निमन्त्रणा गर्नुभएको थियो। केहीले भन्नुभयो कि मैले बोल्ने विषय त्यहाँको लागि उपयुक्त थिएन, तर म स्पष्ट भन्न चाहन्छु .. त्यो नै सही समय र ठाउँ थियो।हामीलाई उद्योगका समस्या र सुधारका विषयमा बोल्न बोलाइएको थियो, र मैले त्यसैबारे बोलेँ। त्यो अवसरमा मैले एउटा सानो अनुभव बाँडेकी थिएँ। हामी काठमाडौं बाहिर छायांकन गर्दै थियौँ। मसँग एक भारतीय मोडेल थिइन्, जसले वाशरूम र भ्यानिटी भ्यानबारे सोधिन्। दुर्भाग्यवश, त्यहाँ भ्यानिटी भ्यान थिएन, र हामीले आफ्नो टिमको भाडाको बसभित्रै कपडा फेर्नुपर्यो। यही हाम्रो काम गर्ने वास्तविक अवस्था हो, र मैले यो कुरा आदरणीय मन्त्री जगदीश खरेल सरलाई आफ्नो अनुभवका रूपमा बाँडेकी थिएँ। हाम्रो देशमा संगीत भिडियो, चलचित्र छायांकनका क्रममा विशेषगरी महिलाहरूका लागि आधारभूत सुविधा नहुँदा पर्ने समस्या देखाउन चाहेको हो।
मैले यो पनि सुझाव दिएकी थिएँ कि यदि सम्भव भए, यस्ता भ्यानिटी भ्यान वा आधारभूत सुविधा बनाउन केही सहयोग वा कोषको व्यवस्था गर्न सकिन्छ। म जान्दछु, यो प्रत्यक्ष रूपमा मन्त्रालयको जिम्मेवारी होइन, तर उहाँले निजी निर्माण कम्पनीहरूले यस्ता सुविधा खरिद गर्न सकुन् भनेर सरकारी करमा छुट दिने विषयमा विचार गर्ने बताउनुभयो, जुन सुन्न पाउँदा मलाई खुसी लाग्यो। मेरो उद्देश्य महिला कलाकारको पक्षमा बोल्नु थियो। किनभने म आफैँले र धेरै महिलाले यस्ता समस्या पटक–पटक भोगेका छौँ। कहिलेकाहीँ छायांकनका क्रममा हामी गाउँ–टोलका घरहरूमा गएर कपडा फेर्न अनुमति माग्नुपर्छ, र कहिलेकाहीँ सम्भव नभए भाडा बसमा कपडा फेर्नुपर्छ। यस्तो अवस्था कुनै पनि कलाकारका लागि सहज होइन।
अब म सोध्न चाहन्छु? जब हामीलाई यी विषयमा छलफल गर्नकै लागि निमन्त्रणा गरिएको थियो, तब सम्बन्धित निकायलाई यस्ता समस्या बताउनमा के गलत छ? मेरो उद्देश्य केवल आफ्नो अनुभव साझा गर्नु र ती महिला कलाकारहरूको आवाज बन्नु हो, जसले यस्ता कठिनाइहरू भोग्छन् तर बोल्ने अवसर पाउँदैनन्। दुःखको कुरा, जब यस्ता विषयहरू उठाइन्छन्, धेरैले त्यसलाई मजाकको रूपमा लिन्छन् वा तोडमोड गर्छन्। केहीले भन्छन्, भ्यानिटी भ्यान वा उचित परिवर्तन कक्ष बनाउनु मन्त्रीको काम होइन, उहाँसँग ठुला जिम्मेवारी छन्। तर म यो भन्न चाहन्छु कि कलाकारले काम गर्ने वातावरण सुरक्षित, सम्मानजनक र सहज बनाउनु पनि हाम्रो उद्योगको जिम्मेवारी हो। र चलचित्र उद्योग सूचना तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत पर्नाले, यस्तो विषय उहाँहरूसमक्ष राख्नु पूर्ण रूपमा उचित हो।
सफा शौचालय र निजी रूपमा कपडा फेर्ने सुरक्षित स्थान कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो। सहर होस् वा गाउँ, महिला कलाकारहरूले यस्ता सुविधा पाउनुपर्छ। यद्यपि केही ठाउँमा भ्यानिटी भ्यान वा टेन्ट उपलब्ध हुन सक्छन्, ती धेरै कम छन्, र प्रायः हामीसँग कुनै विकल्प हुँदैन।त्यसैले, यस्ता विषयलाई हाँसो वा हल्का रूपमा नलिई, यसलाई कलाकारको गरिमा, सुरक्षा र पेसागत सम्मानसँग जोडिएको विषयको रूपमा लिन आवश्यक छ। हामी सबै मिलेर चलचित्र क्षेत्रमा काम गर्ने सबै कलाकारका लागि आधारभूत सुविधा सुनिश्चित गर्न सक्यौँ भने, त्यो सम्पूर्ण उद्योगकै सम्मान हुनेछ।
प्रकाशित: २३ कार्तिक २०८२ १३:०३ आइतबार