कला/साहित्य

६१ मा लागे शाहरुख, ‘मन्नत’ बाहिर प्रहरीको उच्च निगरानी

बलिउडका 'किंङ खान' आफ्नो ६१ औँ जन्मदिन सोमबार मनाउँदै छन्। यो अवसरमा शाहरुख खानको घर ‘मन्नत’ बाहिर सुरक्षा व्यवस्था कडा गरिएको छ। जन्मदिनको अवसरमा उनलाई एक झलक हेर्न ठूलो संख्यामा प्रशंसकहरू घरबाहिर भेला हुन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो।

शाहरुख खानको जन्मदिन उनका प्रशंसकहरूका लागि कुनै चाडपर्वभन्दा कम हुँदैन। हरेक वर्ष नोभेम्बर २ मा उनका प्रशंसकहरू मुम्बईस्थित उनको घर ‘मन्नत’ बाहिर भेला भएर उनलाई जन्मदिनको शुभकामना दिइरहेको भिडियो सामाजिक सन्जालभरि नै हुने गर्दछ।

सोमबार बिहानैदेखि प्रशंसकहरू मन्नतबाहिर पुग्न थालेपछि मुम्बई प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। प्रहरीले सवारीसाधन जाँच गर्नुका साथै भीड नियन्त्रणमा विशेष ध्यान दिएको देखिएको छ।

शाहरुख आफ्नो जन्मदिनका अवसरमा प्रायः घरबाहिर आएर प्रशंसकहरूलाई अभिवादन गर्ने र उनीहरूको माया तथा समर्थनका लागि धन्यवाद दिने गर्छन्। यसले उनका प्रशंसकहरूका लागि यो दिनलाई अझ विशेष बनाउने गरेको छ।

उनको यात्रालाई हेर्ने हो भने थिएटरदेखि टेलिभिजन हुँदै चलचित्रसम्म उनले निकै उत्कृष्ट यात्रा तय गरेका छन्।  

यसैबीच, शाहरुखले आफ्नो ६१औँ जन्मदिनको अवसर पारेर आगामी चलचित्र ‘किङ’ को पहिलो गीत ‘तू मिल जाए’ सार्वजनिक गर्दै प्रशंसकहरूलाई विशेष सरप्राइज दिएका छन्।

गीतमा शाहरुख खान र दीपिका पादुकोणबीचको रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ। यसले चलचित्र ‘किङ’बारे पनि दर्शकहरूलाई विशेष झलक दिएको छ।

‘तू मिल जाए’ गीतमा अरिजित सिंह र मधुबन्ती बागचीले संयुक्त रूपमा गाएका हुन्। गीतको अंग्रेजी र्‍याप एड शिरनले लेखेका छन्।

सचिन–जिगरले संगीत संयोजन गरेको यस गीतका शब्द कुमारले लेखेका हुन्। यस गीतमार्फत भारतीय र अन्तर्राष्ट्रिय संगीत प्रतिभाको सुन्दर संयोजन देख्न सकिन्छ।

यो चलचित्र २४ डिसेम्बर २०२६ मा विश्वभरका चलचित्र हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: १६ कार्तिक २०८३ ११:४१ सोमबार