कला/साहित्य

काभ्रेमा गुञ्जिए कवि विश्व

प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेले आयोजना गर्ने मासिक कविता वाचन तथा अन्तरक्रिया  बनेपामा भएको छ। बनेपा–८ स्थित शिक्षक संगठनको हलमा गरिएको कार्यक्रममा यस महिनाका ‘स्रष्टा विशेष’ का रूपमा बनेपाका कवि तथा कथाकार विश्व सिग्देललाई प्रस्तुत गरिएको थियो।

कार्यक्रम प्रलेस काभ्रेका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’को अध्यक्षता र प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द शृङ्खलाकाे प्रमुख आतिथ्यमा भएकाे थियाे।

कवि, निबन्धकार तथा कथाकारका रूपमा स्थापित सिग्देलले कार्यक्रम मार्फत आफ्ना चार मनपर्ने कविता वाचन गरे। ती कविताले सामाजिक–राजनीतिक विसंगति, शोषण र असमानतामाथि तीक्ष्ण प्रहार गर्दै प्रकृतिसँगको असन्तुलन र मनुष्यको हस्तक्षेपप्रति सचेतना जगाउने सन्देश दिएका थिए। उनका कविताले वैश्वीकरण र भ्रष्ट संरचनाले थिचिएका दलित–वञ्चित समुदायका संघर्षलाई प्रभावकारी रूपमा चित्रण गरेका थिए।

कवि सिग्देलका ‘तालीको समाजशास्त्र’ एकल कवितासङ्ग्रह,  ‘अवसेसन’ (संयुक्त कथासङ्ग्रह, २०१३) र ‘द प्राइमर्डियल सङ अफ लभ’ (संयुक्त कवितासङ्ग्रह, २०२४) प्रकाशित छन्। ‘वर्तमान कविता समूह’ का सक्रिय सदस्य उनका केही कविता अंग्रेजी र जर्मन भाषामा अनूदित छन्।

कविता वाचनको क्रममा सिग्देलले प्रलेस काभ्रेप्रति आभार व्यक्त गर्दै नियमित रूपमा आयोजना हुने यस्ता मञ्चहरूले सक्षम र प्रभावशाली स्रष्टा जन्माउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

प्रमुख अतिथि शृङ्खलाले साहित्य समाजको दर्पण मात्र नभई मार्गदर्शक शक्ति पनि भएको उल्लेख गर्दै काभ्रे जिल्लाका स्रष्टाहरू प्रगतिशील चेतना र अभिव्यक्तिका माध्यमबाट नयाँ उचाइ हासिल गरिरहेको बताए। “यस्ता साहित्यिक कार्यक्रमहरूले स्रष्टाहरूलाई ऊर्जा, प्रेरणा र अनुशासन प्रदान गर्छन्,” उनले भने।

शृङ्खलाले काभ्रेको माटोमा जन्मिएका कवि सिग्देलका कृतिहरू समकालीन नेपाली साहित्यमा विशेष स्थान बनाउन सफल हुने विश्वास व्यक्त गरे।

प्रलेस काभ्रेका सचिव दिनेशराज खरेलले सञ्चालन गरेकाे कार्यक्रममा रमी प्रिया, चन्द्रबहादुर लामा, केशवराज पौडेल, सञ्जय सुमन, डी.पी. आत्रेय, बलराम विष्ट, सौगत घिमिरे, शशीश्री आचार्य, हरिप्रसाद चौलागाईं, रामसुन्दर देउजा, केशव घिमिरे, सुशिला विष्ट, श्रीकृष्ण पाण्डे, मुरहरि रायमाझी, रक्तिम लामा, शुभद्रा अधिकारी लगायतका कविहरूले पनि कविता वाचेका थिए।

प्रकाशित: १ मंसिर २०८२ ११:२१ सोमबार