कला/साहित्य

नियात्राको उन्नयनमा योगदान गर्नेलाई ‘पवन आलोक नियात्रा पुरस्कार’

नियात्राको उन्नयनमा योगदान गर्ने नियात्राकारलाई रूपैयाँ ५० हजार नगद राशिकाे ‘पवन आलोक नियात्रा पुरस्कार’ अर्पन गरिने भएकाे छ।

साहित्यसेवी रेखा कँडेलले वरिष्ठ नियात्राकार पवन आलोकको नाममा २०७७ सालमा ‘पवन आलोक नियात्रा पुरस्कार’ स्थापना गरेकी थिइन्।

उक्त पुरस्कार रुपैयाँ २५ हजार नगद राशि रहेकाे थियाे। आउँदाे पाँचौं संस्करणदेखि रूपैयाँ ५० हजार बनाइएको छ।

प्रत्येक वर्ष प्रकाशित हुने नियात्रा कृतिमध्येबाट मूल्याङ्कन समितिको सिफारिसको आधारमा एक उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएकोमा आउँदो स‌ंस्करणदेखि नियात्राकारले नियात्रा विधाको उन्नयनमा पुर्‌याएको योगदानको आधारमा प्रदान गरिने भएको छ।

नियात्रा समाज नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको उक्त पुरस्कार स‌ंस्थापक रेखा कँडेल र नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले पुरस्कार सञ्चालनको संशोधित विनियमावलीमा हस्ताक्षर गरेका छन्।

वरिष्ठ नियात्राकार पवन आलोक, साहित्यकार राधेश्याम लेकाली र नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाको उपस्थितिमा पुरस्कार सञ्चालन विनियमावलीमा हस्ताक्षर गरिएकाे छ।

यस पवन आलोक नियात्रा पुरस्कार -२०७७ मा नियात्राकार भीष्म उप्रेतीलाई नियात्रासंग्रह 'हिमाल शेर्पा र यती', २०७८ मा नियात्राकार डा

 दामोदर पुडासैनी किशोरलाई 'ग्रीष्मको नीलो बतास' नियात्रासंग्रह र  २०७९ मा इल्या भट्टराईलाई 'मिसर' नियात्रासंग्रह र २०८० मा  तेजप्रकाश श्रेष्ठलाई 'गंगचुलीको हिउँ' नियात्रासंग्रहका लागि अर्पिएको थियो।

आउँदाे संस्करणबाट यस पुरस्कारलाई 'पवन आलोक नियात्रा सम्मान' को रूपमा प्रदान गर्ने निर्णय भएको नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले बताइन्।

प्रकाशित: २७ पुस २०८२ १३:३५ आइतबार