जब यो धरातलमा सीमारेखा कोरियो तब यहाँ देश–देशको विभिन्न नाम अङ्कित भयो। मनुष्यको सभ्यताको हिसाबले यो प्रक्रियामा धर्म, वर्ग र जात पनि छुट्टिँदै गयो। आफ्नो जात, आफ्नो वर्ग, आफ्नो धर्म भन्दै अन्ततः सबैभन्दा महत्त्वपूर्ण रूपमा आआफ्नो देश/राष्ट्रको संरचना तयार भयो।
र, यही संरचित राष्ट्रसँग अन्योन्याश्रित रूपमा जोडिएको एउटा शब्द बन्यो -‘राष्ट्रियता’।
राष्ट्र र राष्ट्रियता एक–अर्काका परिपूरक मानिन्छन्। यदि राष्ट्रियताले छाती ओतप्रोत छैन भने त्यस्तो छाती बोक्ने नागरिकलाई अराष्ट्रिय मानिन्छ। यस अर्थमा प्रत्येक नागरिकसँगराष्ट्रियता गाँसिएकै हुनुपर्छ। राष्ट्रियता अर्थात् राष्ट्रभक्ति।
राष्ट्रभक्ति अनेक बाटाहरूबाट दर्साइन्छन् -कोही झन्डा उचाल्छन्, कोही भाषण गर्छन्, कोही कविता कोर्छन्। यसै क्रममा कोही गीत लेख्छन् र राष्ट्रभक्ति जनाउँछन्। यहाँ प्रसङ्ग छ– तिनै राष्ट्रभक्ति गीतहरूको। त्यसो त गीत लेखेर जति त्यसको भाव अनुभूत गर्न सकिन्छ, अझ त्यसलाई सङ्गीत भरेर गाउन सकियो भने त्यो गीत अझ प्रभावकारी सिद्ध हुन्छ।
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’
राष्ट्रकवि माधव घिमिरेले रचना गरेको र सङ्गीतकार नातिकाजीले गाएका यो गीतमा राष्ट्रलाई किञ्चित मामुली ठान्नेहरूप्रति सचेतनाको सन्देश दिइएको छ। संसारमा कतिपय यस्ता देशहरू अझै पनि छन्, जो दोस्रो राष्ट्रको उपनिवेश भएर रहिरहेका छन्, कुनै अप्रत्यक्ष रूपमा रहेका छन् भने कुनै प्रत्यक्ष अर्काको अधीनमा। इतिहास हेर्ने हो भने विश्वका धेरै देशहरू कुनै न कुनै देशअन्तर्गत रहे। यस दृष्टिकोणले हेर्दा हाम्रो देश कहिल्यै पनि कसैको अधीनमा रहेको देखिन्न।
तर, आजको स्थितिमा हेर्ने हो भने ठुला–ठुला शक्तिवान् देशहरूसँग सञ्चित अस्त्रशस्त्रको बलको कारण हाम्रो जस्तो साना मुलुकहरू जोखिमको अवस्थामा रहेका छन्। त्यसमाथि त्यस्ता शक्तिसम्पन्न धेरै देशहरू युद्धरतः मार्गमा हिँडिरहेका छन्। तसर्थ यतिबेला यो गीत झन् सान्दर्भिक बनेको छ। देशको माटोको सुगन्ध भुल्नु हुँदैन, आफ्नो देशप्रतिको कर्तव्यनिष्ठता यो गीतको मूल सन्देश हो।
अर्को एउटा गीत छ राष्ट्रभक्तिको, जुन गीत गोपाल योन्जनले लेखेर आफैँले धुन भरी गाएका छन्।
‘म आगो सहन्छु, अन्याय सहन्न,
म तृष्णा सहन्छु, तिरस्कार सहन्न
मेरो शिर उडाऊ, बरु त्यो सहन्छु,
तर कोई परायाले टेके सहन्न’
यो गीत स्वाभिमानको पनि गीत हो। अर्थात्, स्वाभिमानको प्रेम स्वच्छ हुन्छ। यस अर्थमा जुन प्रेममा स्वाभिमान हुन्छ, त्यस्तो स्वाभिमानले लेखिएको यो राष्ट्रभक्तिको गीतमा राष्ट्रप्रति यस्तो समर्पण–भाव भेटिन्छ जसको तुलना कहीं केहीसँग गर्न सकिन्न। देशभक्त नागरिकका हैसियतले आफ्नो बलिदान दिन तयार छन् गीतकार यहाँ। ठुला शक्तिले मिच्न खोज्नेहरूप्रति हुँकार गरिएको छ– शरीरमा लाइदेऊ आगो, भोकै–प्यासै तड्पाऊ तर अपमान गर्ने कोसिस नगर, सम्मानका साथ बाँच्न सक्ने मसँग हिम्मत छ। अझ, त्यसभन्दा अघि बढेर, आइलाग्नेमाथि जाइलाग्ने मभित्र रगत बगेको छ, म त्यो बहादुरीलाई प्रयोग गर्न सक्छु।
वास्तवमै, नेपाली हुनुको अर्को नाम गोर्खाली हो जसले विगतका विश्वयुद्धहरूमा आफ्नो परिचय दिइसकेका छन्। यस्ता वीर गोर्खाली जन्मे–हुर्केको यो त्यस्तो देवभूमि हो, जहाँ केवल मानवताको मन्त्र जपिन्छ। गीतकार ध्रुवकृष्ण दीप लेख्छन्–
‘पत्थर पनि पगाली यहाँ पिरती लाइन्छ
नौलाख तारा जडेको गीत यही देशभित्र छ’
नातिकाजीद्वारा सङ्गीतबद्ध र दीप श्रेष्ठ तथा मीरा राणालगायतले गाएको यो देशभक्तिपूर्ण गीतमा देशको गौरवगाथा अङ्कित छ। ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ भन्ने कविताको पङ्क्तिलाई पनि उछिनेर यस गीतको पङ्क्ति बोल्छ -यहाँको माटो जत्तिको प्रेमिल छ ढुङ्गा पनि उत्तिकै प्रेमिल छ। वास्तवमा ढुङ्गा त नामैले कडा/कठोर हुन्छ तर यो भूमिको ढुङ्गा यस्तो छ कि त्यो सहजै पग्लन्छ र त्यसलाई सहजतासाथ पगाल्ने एउटै हतियार छ, त्यो हो -प्रेम। प्रत्येक मन–मनमा यहाँ प्रेमको बीज छ, जो मानवीय उत्थानका खातिर सदैव छरिइरहन्छ। प्रेमको रसले भरिपूर्ण यो माटोजस्तो रसिलो माटो अन्यत्र कहीं पाइन्न। यो त्यो धर्ती हो जहाँ सूर्यको पहिलो किरणले पदार्पण गर्छ। यहाँ जूनले शीतलताको सङ्गीत भर्छ, ताराहरूले झिलीमिली गीत गाउँछन्।
यस्तो गौरवशाली धर्तीमा जन्मिएका हामी, माथि भनिएझैं कहिल्यै कसैको अधीनमा रहेनौं। यहाँका जन–जन प्रार्थना गर्छन्– कसैको आँखा नलागोस् हाम्रो यो धर्तीमा। गीतको माध्यमबाट गीतकार कालीप्रसाद रिजाल भन्छन्–
‘बिहान उठ्नेबित्तिकै हिमाल हेर्न पाइयोस्
यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस्’
कसका आँखा छन् बिउँझनेबित्तिकै हिमाल देख्ने? हामीले त्यो सौभाग्य पाएका छौं। हिमालकै काखमा हाम्रो वासस्थान छ। त्यही काखमा बसेर रमाई रमाई देशको गीत गाउन पाउने हामी संसारकै सबैभन्दा सुखी मान्छे हौं। को लोभिँदैनन् हाम्रो धर्तीमा उभिएका हिमाल देखेर? के किनेर पाइने वस्तु हो हिमाल? अथवा कुनै अर्को वस्तुसँग साटेर पाइन्छ? वास्तवमा हिमालको तुलनामा अर्को अमूल्य वस्तु संसारमा केही छैन। यस दृष्टिकोणले हामी संसारकै सबैभन्दा धनी मान्छे हौं। हामीलाई यही धन भए मनग्गे छ, अर्थोक धन केही चाहिन्न। नजिस्क्याउनू हामीलाई, नलोभ्याउनू–नफकाउनू हामीलाई! हामी आफैंमा भरिपूर्ण छौं।
हो, हामी सन्तुष्ट छौं। खुसी छौं। हामीलाई कसेको भय छैन। तर, यति भन्दाभन्दै पनि यहाँको शान्त वातावरणलाई अचानक खोई कसरी–कसरी कसले बिथोल्यो? मूलतः कवि–कलम यहाँनिर मर्माहत बन्न पुग्छ। गीतकार उन्नति बोहरा शीला लेख्छिन्–
‘फर्की आऊ शान्ति तिमी लालीगुराँस भन्छन्
फर्की आऊ शान्ति भन्दै डाँफे–मुनाल रुन्छन्’
माओवादी द्वन्द्वको समयमा सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीतमा कर्णदासले गाएका यो गीतमा प्रत्येक नेपालीका तत्कालीन मनोवेदना पोखिएको छ। त्यो वेदनाले चिच्याई–चिच्याई आह्वान गरेको छ कि यो भूमिबाट हराएको शान्तिको अवस्था यथारूपमा फेरि स्थापित हुनुपर्छ। हामी शान्तिवादी हौं, सदैव शान्ति चाहन्छौं। जबसम्म शान्ति फर्कंदैन तबसम्म हामी त छटपटाइरहन्छौं नै, यहाँका प्रत्येक जीवहरू, रुखहरू, फूलहरू, पहाड, कन्दरा, सबै–सबै नै रोइरहन्छन्।
खास गरेर राष्ट्रभक्तिका गीतका सर्जकहरू भन्छन्– हामी शान्तिप्रिय नेपालीका लागि शान्तिभङ्गताजस्तो अर्को पीडा केही छैन। हामी यस्तो पीडामा कहिल्यै रहन सक्तैनौं। त्यसै पनि त, राष्ट्रभक्तिका कविता रच्ने, गीत गाउनेहरूका लागि शान्ति नै एउटा त्यस्तो अपरिहार्य विषय हो, जसलाई आलिङ्गनमा मात्रै हामी मस्तले निदाउन सक्छौं।
प्रकाशित: २४ माघ २०८२ ०६:३५ शनिबार