प्रारम्भिक व्यापारिक सुस्तता र बाढीपहिरोको धक्का चिर्दै नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारिक पुनरागमन गरेको छ।
प्रदर्शनको पहिलो र दोस्रो दिन न्यून दर्शक उपस्थिति तथा रसुवामा गएको भीषण बाढीपहिरोका कारण सुरुवाती धक्का बेहोरेको यस फिल्मले तेस्रो दिनदेखि बलियो ‘माउथ पब्लिसिटी’ का कारण व्यापारमा ठूलो फड्को मारेको हो।
सुरुवातमा नगण्य सो पाएको यस फिल्मले दर्शकको बढ्दो चापसँगै हाल देशभरका हलहरूमा ११० भन्दा बढी सो प्राप्त गर्न सफल भएको छ।
विशेष गरी भारतीय बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को कमजोर समीक्षा र खस्किँदो व्यापारको फाइदा समेत उठाउँदै ‘पार्वती’तर्फ दर्शक आकर्षित भएका हुन्।
अटिजम प्रभावित दिदीप्रति भाइले देखाएको अगाध प्रेम र पारिवारिक सङ्घर्षको भावुक कथावस्तु नै यस फिल्मको सफलताको मुख्य जग बनेको छ।
हलबाट बाहिरिने क्रममा दर्शकहरू भावुक बन्दै निस्किएको दृश्यले फिल्मको सबल विषयवस्तु पुष्टि गर्दछ। सुरुवाती चरणमा शो नै घट्ने स्थिति बने पनि दर्शकको सकारात्मक प्रतिक्रियाले अहिले व्यापारमा सोचेभन्दा राम्रो उत्साह थपेको निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले बताएकी छन्।
यतिबेला यस फिल्मका कलाकारसहित निर्माण टिम नेपालको पश्चिम क्षेत्र कैलाली, कञ्चनपुर लगायतका हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका छन्। उनीहरूले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको जानकारी दिएका छन्।
हरिहर अधिकारीको निर्माण रहेको यस फिल्ममा नीताका साथै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय छ।
भारतीय सुपरहिट फिल्म ‘हनुमान अंश’ ले जस्तै सुरुवाती कमजोर व्यापारपछि एक्कासि आक्रामक कमाइ गर्ने शैली समातेको ‘पार्वती’ ले बक्स अफिसमा लोभलाग्दो उपस्थिति जनाउँदै छ।
प्रकाशित: १८ भाद्र २०८३ १३:०८ बिहीबार