'संज्ञान विमर्श' को चौधौं शृङ्खलामा विभरा किरातीको कविताकृति 'आदिम फूल' को परिचर्चा गरिएको छ।
पाटन संयुक्त क्याम्पस नेपाली विभागको शुक्रबारे बहसको यस अङ्कमा आफ्नो विचार राख्दै उपप्रा. शोभा चापागाईं बरालले विभराका कवितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश प्रस्तुत भएको बताइन्।
उनका कवितामा शासक वर्गको शासनशैलीप्रति असन्तुष्टि व्यक्त भएको धारणा बरालले राखिन्।
मानवशास्त्री डा. विष्णु दाहालले 'आदिम फूल' वर्ग, मानिस र सन्दर्भको एकीकृत स्वरूप भएको विचार राखे।
कविता सांस्कृतिक पुँजी भएको अभिमत अघि सार्दै उनले असल साहित्यमा समाजको बिम्ब सङ्ग्रह हुने धारणा अघि सारे। असल काव्यको जन्म भए समाज पढ्न गाउँ पुग्नुनपर्ने तर्क प्रस्तुत गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली साहित्यको उपस्थितिका निम्ति अन्तरविषयक समालोचनाको वैज्ञानिक पद्धतिलाई पृष्ठभूमिमा राखी अनुसन्धानको नवीन आयाम पहिल्याउन ढिलाइ गर्न नहुने विचार प्रस्तुत गरे।
नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीले किराती मिथकको सौन्दर्य टिपी फक्रिएका विभराका कविता पहिचानको मूल्य र मर्म उजागर गर्न सफल भएको वचार राखे।
उपप्रा. विष्णु ज्ञवालीले विभराका कविता शोषितहरूको धरातलबाट उम्रिन सफल भएको टिप्पणी गरे। उनले स्मृतिबिम्बमा सङ्गृहीत विषयवस्तुको सुन्दर संयोजनबाट किरातीका कविता तयार भएको अभिमत पेस गरे।
त्यस्तै, डा. शोभा ढुङ्गानाले प्रभुत्वशाली राष्ट्रको थिचोमिचोलाई किरातीका कविताले सुन्दर रूपमा प्रस्तुत गरेको बताइन्।
डा. शारदा लामिछानेले किनारीकृतहरूको आवाज व्यक्त गर्न समर्थ कविका रूपमा किरातीको प्रशंसा गरिन्।
डा. चतुर्भुजलाल दास केवरतले किराती समुदायको अस्तित्व उजागर भएका यी कविता सम्बन्धित समुदायबाटै विश्लेषण हुनुपर्ने र त्यसो हुन सके त्यस समुदायको सांस्कृतिक पक्ष अझै प्रस्ट रूपमा प्रकट हुने विचार अघि सारे।
डा. जीवन श्रेष्ठले विभराका कवितामा प्रस्तुत किराती सभ्यता र इतिहास वास्तविकतासँग कति नजिक वा टाढा छ भन्ने विषय अनुसन्धानको महत्त्वपूर्ण पाटो भएको धारणा राखे।
'चक्रव्यूह सञ्चेतना' का प्रवर्तक, कवि तथा समालोचक डा. सुरेश हाचेकालीले साहित्यिक रचनामा प्रकटित विचार र मान्यता प्रसारण गर्न समालोचनाले विशिष्ट भूमिका खेल्ने तर्क राखे। उनले विभराका कवितामा अभिव्यक्त किराती सभ्यता र संस्कृतिलाई अनुसन्धानका विविध कोणबाट नियाल्नुपर्ने धारणा अघि सारे।
डा. हेम भण्डारीले विभराका कविता प्रतिरोधको विशिष्ट चेतना उजागर गरी सार्वजनिक भएको बताए। कवि किरातीले कवितामार्फत मौलिक जनजीवन, संस्कृति र प्रकृति लेख्ने निरन्तरताको उपज नै 'आदिम फूल' भएको वास्तविकता सार्वजनिक गरे।
पाटन संयुक्त क्याम्पस नेपाली विभागका विभागीय प्रमुख माधव उपाध्याय लम्सालको अध्यक्षतामा सञ्चालित कविता विमर्श कार्यक्रममा यस क्याम्पसका नेपाली तथा अन्य विभागका प्राध्यापक तथा छात्रछात्राहरूको उपस्थिति थियो। हालै सार्वजनिक 'आदिम फूल' कवि तथा गीतकार विभरा किरातीको दोस्रो कविताकृति हो।
प्रकाशित: ९ जेष्ठ २०८३ ०८:४८ शनिबार