कला/साहित्य

‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने

लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ ।

तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सहल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं ।’

चलचित्र वितरणको जिम्मा लिएका आरआर फिल्मस्का रोहित कट्टेलले ‘पाँच पाण्डव’लाई लिएर आफूहरू निकै उत्साहित रहेको बताएका छन् ।

वितरणका बारेमा आफ्नो धारणा राख्दै कट्टेलले भने, ‘हामीले फिल्मको कन्टेन्ट र यसमा रहेका कलाकारहरूको बलियो लाइनअप हेरेर नै वितरणको जिम्मा लिएका हौं । तिहार जस्तो ठूलो चाडमा दर्शकले खोज्ने भनेकै पूर्ण मनोरञ्जन हो, जुन यो फिल्मले दिनेछ । ‘पाँच पाण्डव’ व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल हुनेमा हामी विश्वस्त छौं, त्यसैले हामीले यो उत्कृष्ट मिति रोजेका हौं ।’

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायत मुख्य भूमिका रहने छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरेका छन् । 

प्रकाशित: ४ वैशाख २०८३ ११:४३ शुक्रबार