‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ ले लघुकथा वाचनकाे साथ निवर्तमान पदाधिकारीहरूलाई बिदाइ गरेको छ।
केन्द्रका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठको अध्यक्षता तथा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
दक्षिणकालीस्थित सेतीदेवी माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममा शब्दपथका किशोर पहाडी, लता केसी, सुभाषचन्द्र पौडेल 'भीमफेदीया', रामकुमार बस्नेत, दामोदर अधिकारी विशिष्ट अतिथिको रूपमा रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले दक्षिणकाली नगरपालिकाभित्र साहित्यिक रौनक बढदै गएकोमा खुसी व्यक्त गर्दै साहित्यिक कार्यक्रमका लागि नगरपालिका सधैं सहयोग गर्ने बताए। उनले केन्द्रका निवर्तमान पदाधिकारीहरूलाई धन्यवादपत्र दिँदै नयाँ पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
विशिष्ट अतिथि किशोर पहाडीले बान्की गोजी पत्रिकामा छापिने गरेको लघुकथा, हवाईपत्र र पोष्टकार्डमा छापिने लघुकथाको आफ्नै महत्त्व थियो भनेर इतिहास कोट्याउँदै हाल मेचीदेखि महाकालीसम्म लघुकथाको विस्तार हुँदै गएकोमा खुसी व्यक्त गरेका थिए।
हाम्रो लघुकथा केन्द्र, नेपालका संस्थापक लता केसी (लघुकथा अभिभावक) का अनुसार कार्यक्रममा रीता बलामी, मन्दिरा मधुश्री, उमा सिजापती, सीता आस्था ढुङ्गेल, शेखर अर्याल, कात्यायन, जुम्मन किरण, डा. हिमलाल श्रेष्ठ, दीपक लोहनी, ध्रुवराज थापा 'पुरुष, प्रार्थना खनाल', प्रेम खनाल', गणेश लम्साल', रजनी खनाल, मन्दिरा चापागाईं, सुभाषचन्द्र पौडेल 'भीमफेदीया', मधुसूदन पराजुली, महेन्द्र न्यौपाने', निशा केसी', सविता केसी, रमेश सुवेदी र किशोर पहाडीले लघुकथा वाचेका थिए।
कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठानले पनि केन्द्रको नयाँ कार्यसमितिलाई स्वागत र निवर्तमान कार्यसमितिलाई बिदाइ गरेको थियो।
प्रतिष्ठानका कोषाध्यक्ष चन्द्रलाल तामाङले सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा केन्द्र दाहिने र देब्रे हात भएको बताउँदै यी दुवै संस्था एक अर्काका पूरक भएको बताए।
संस्थाका सहसचिव मिसु श्रेष्ठले चलाएकाे कार्यक्रममा केन्द्रका उपाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रमका संयोजक तथा केन्द्रका कोषाध्यक्ष मनीषकुमार शर्माले कार्यक्रमबारे प्रकाश पारेका थिए। उनले जुन ठाउँमा संस्थाको जन्म भएको हो त्यहीँबाट शुरू गरेर विभिन्न अन्य ठाउँमा पनि कार्यक्रम गरिने बताए।
कार्यक्रमका सभाध्यक्ष डा. श्रेष्ठले निवर्तमान पदाधिकारीहरूप्रति कृतज्ञता ज्ञापनकाे साथ बिदा मन्तव्य राखेका थिए। उनले आउँदाे चैत ७ गते लघुकथा केन्द्र सम्मान कार्यक्रम गरिने बताउँदै साथसहयोग प्रदान गर्ने शुभेच्छुक सबैलाई धन्यवाद दिएका थिए।
प्रकाशित: २२ मंसिर २०८२ ०९:३९ सोमबार