‘‘निर्ममतापूर्वक कारबाही हुनुपर्छ, अन्तरघातीहरूलाई।” लक्ष्मणले फोनबाटै पार्टी सभापतिलाईआक्रोश पोखे।
पार्टी सभापतिले लक्ष्मणलाई थुम्थुम्याउने प्रयत्न गर्दै भने, ‘‘नआत्तिनुस् लक्ष्मणजी, अन्तरघातीलाई कारबाही गरेरै छोड्छौं। बरु कारबाहीको सूची पाउन।”
लक्ष्मण इमान्दार कार्यकर्ता हुन्। पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध छन्। चुनावमा आफ्नो उमेद्वार जिताउन कुनै कसर बाँकी राखेनन्। लक्ष्मण कुनै गुटको पक्षपाती हैनन्। गुट नहेरी उनी पार्टीले खटाएको काम गर्छन्।
चुनावको परिणाम अनपेक्षित आयो। लक्ष्मण आश्चर्यमा परे। जितिन्छ भनेको चुनाव हार्नुपर्यो। अन्तरघात हुने कुरा लक्ष्मणलाई थाहा भएकै थियो। तथापि अन्तरघात रोक्न सकेनन्।
अन्तरघातीहरूले विपक्षी दलको नेतालाई मत हालेका दृष्य लक्ष्मणले एकाग्र भएर नियालिरहे। लक्ष्मणले ठाने, पार्टीको खोल ओढेर पार्टी नीतिविपरीत गतिविधि गर्ने कार्यकर्ता सजायको भागिदार हुनै पर्छ। पार्टी सिध्याउने खेल खेल्नेहरूलाई पार्टीबाट निष्कासन गर्नै पर्छ।
अवसर लुट्ने र मतलब साध्य गर्ने गरी पार्टीमा बस्नुको कुनै औचित्य हुँदैन। अवसरवादीहरू पार्टीबाट हटेकै राम्रो। पार्टीलाई पुन: सङ्गठित गर्न सहज त हुन्छ।
लक्ष्मणले कारबाहीको सूची उतारे। लामो स्वास फेरे। सभापतिलाई फोन गरी आत्मसन्तुष्टिको अनुभूत गरे।
प्रकाशित: १२ चैत्र २०८२ ०७:५६ बिहीबार