प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले आज शिष्टाचार भेट गरेका छन्।
कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत सम्मिलित टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेको हो।
टोलीले विशिष्ट अवस्थामा गठन भएको यो सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना गरेको छ।
प्रधानमन्त्री कार्की प्रतिष्ठानको पदेन संरक्षक पनि हुन्।
त्यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराएका थिए। देशभरको गीत, सङ्गीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो पनि उनले गरे।
प्रतिष्ठान अहिले ‘प्रिफ्याब’को अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उनले जानकारी गराए।
नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो। त्यसैमध्येको एउटा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो।
प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरूसँग परामर्श गरी भवन निर्माणमा सघाउन आवश्यक पहल गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: ९ पुस २०८२ १८:४२ बुधबार