कला/साहित्य

उपन्यासकार डा. छवि वैरागीको ‘विविशारा’ लोकार्पण

साहित्यकार डा. छवि वैरागी घिमिरेको बाह्राैं कृति ‘विविशारा’ उपन्यासको लोकार्पण भएको छ। ‘सभाध्यक्ष र प्रमुख अतिथिबिनै विविशारा’ उपन्यास लोकार्पण गरिएको हाे।

प्रकाशक संस्था फिनिक्स बुक्सले अनामनगरस्थित युनियन हाउसमा आयोजना गरेको कार्यक्रममा आख्यानकार प्राज्ञ अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, उपन्यासकार डा. छवि वैरागी घिमिरे र उनकी धर्मपत्नी तारा ढकाल घिमिरेले कृतिको लोकार्पण गरेका थिए।

लोकार्पण कार्यक्रममा समालोचक अनुपमा रेग्मी तथा आख्यानकार अमर न्यौपानेले उपन्यासकाे समीक्षात्मक टिप्पणी गरेका थिए। आख्यानकार न्यौपानेले विविशारा उपन्यासकाे विषय निकै सरल र मार्मिक रहेको बताए। विविध पात्रको कोलाजका रूपमा बाहिर आएको यो उपन्यास  पढिरहूँ लाग्ने रहेको बताउँदै यसले पाठकको मन जित्ने आशा पनि व्यक्त गरे। भाषाशैलीका हिसाबले पनि यो कृति निकै सुन्दर रहेको उनको भनाइ थियो।

यसैगरी समालोचक अनुपमा रेग्मीले यसभित्रका पात्रहरू समाजका यथार्थता भएको र यो उपन्यास पढ्दा आफैंभित्रको पात्र भएको महसुस हुने कुरा बताउँदै यस दुनियाँमा रहेका तमाम अनाथप्रति आस्था देखाएको बताइन्। त्यस्तै उपन्यासले आफूलाई भावुक बनेकाे पनि उनले बताइन्।

बाबु त्रिपाठीले सञ्चालन गरेकाे कार्यक्रममा कृतिकार वैरागीले आफूले यस उपन्यासलाई समाजको एउटा विषय र यथार्थता भएको बताए।

साविकको लेखर्क गापं ६, काभ्रे, भोजपुर (हालको टेम्केमयुङ गाउँ- ५, मा)  मा पिता कृष्णप्रसाद घिमिरे र माता माया घिमिरेका तेस्रो सन्तानका रूपमा जन्मिएका घिमिरेको पछिल्लो समय सुन्दरहरैंचा-९, विराटचोक, मोरङमा बसोबास रहेको छ।  

२०५२ सालमा ‘के हुन्छ यो मानव’ छन्द कविता छापेर साहित्याकाशमा प्रवेश गरेका उनी कविता, उपन्यास, बालसाहित्य जस्ता  विविध विधामा कलम चलाउँछन्। उनका विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन्।  

प्रकाशित: १६ भाद्र २०८२ ०९:२६ सोमबार