कला/साहित्य

फेरि विवादमा परिन् नोरा फतेही, युट्युबबाट हटाइयो गीत

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही पुनः विवादमा तानिएकी छिन्। ३४ वर्षीय क्यानेडियन नोरा कहिले व्यक्तिगत भने कहिले व्यावसायिक विवादमा परिरहन्छिन्। उनको यस पटकको विवाद भने बलिउडसम्म मात्र रहेन उनको गीतको आलोचना भारतीय संसद् भवनसम्म पुगेको छ।

मार्च १४ युट्युबमा सार्वजनिक गरिएको कन्नड चलचित्र ‘केडीः द डेविल’ गीत ‘सरके चुनर तेरी सरके’ ठुलो विवादमा परेको छ।गीतले आश्लिलता फैलाएको र गीतका शब्द दोहोरो अर्थ लाग्ने भन्दै यसको चौतर्फी आलोचना भएको हो। विवाद यतिसम्म चर्कियो कि गीत आधिकारिक रूपमा युट्युबबाटै नै हटाइएको छ।  

गीत विवादमा परेपछि नोराले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन्। एक भिडियो सार्वजनिक गरेर उनले आफ्नो बचाउ गरेकी छिन्। उनले उक्त गीत तीन वर्ष अगाडिको रहेको बताउँदै गीतमा संजय दत्त जस्ता दिग्गज कलाकार भएका कारण आफूले काम गर्न सहमति जनाएको बताएकी छिन्।

कन्नड भाषामा भएको कारण त्यतिबेला आफूले गीतको अर्थ नबुझेको बताउँदै उनले चलचित्र निमार्ता र निर्देशकले भाषाको गलत अनुवाद सुनाएर धोका दिएको आरोप लगाइन्। साथै उनले आफ्नो अनुमति बिना नै ‘एआइ’ को प्रयोग गरेर गीत सार्वजनिक गरेको आरोप लगाएकी छिन्।

अर्कोतर्फ, राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा उजुरी परेपछि सेन्सर बोर्ड र सूचना प्रविधि मन्त्रालयलाई नोटिस जारी गरी जवाफ मागेको छ। गीतका गीतकार रकिब आलमले भने विवादित शब्दहरू आफूले नभई निर्देशकले नै लेखेको दाबी गर्दै पन्छिन खोजेका छन्।

यसअघि नोराको नृत्य रहेको  ‘सत्यमेव जयते’ को गीत ‘दिल्बर–दिल्बर’ले पनि चर्चा संगै आलोचना र आरोपको सिकार पनि बेहोर्नुपरेको थियो।

२०१८ मा सार्वजनिक भएको उक्त गीत रिमेक बनाइएको भन्दै ‘ऑब्जेक्टिफिकेशन’ को आरोप लागेको थियो।

यस्तै, २०१९ को फिल्म ‘स्ट्रीट डान्सर थ्रीडी’ को गीत ‘हाए गर्मी’ को ‘डान्स स्टेप’ पनि उत्तिकै विवादित रह्यो। उनको गीत ‘नाच मेरी रानी’ र ‘कुसु कुसु’ लगायतले समाजिक सञ्जालमा निकै चर्चा तथा आलोचना बेहोर्नु पर्यो।

प्रकाशित: ६ चैत्र २०८२ १५:०८ शुक्रबार