अभिनेता निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ।
शनिबार कमलपोखरीस्थित बिग मुभिजमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा निखिललाई दक्षिण भारतीय चलचित्रको शैली झल्काउने एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
निखिलकै निर्देशनमा बनेको चलचित्रमा उनी दुई फरक भूमिकामा देखिएका छन्। एउटा अवतारमा उनी ‘आचार्य’का रूपमा प्रस्तुत छन् भने अर्कोमा अन्यायविरुद्ध लड्ने योद्धाका रूपमा देखिन्छन्। ट्रेलरमा एक्सनसँगै प्रेम र रोमान्सका दृश्यलाई पनि स्थान दिइएको छ।
चलचित्रमा नेपालीसँगै हिन्दी भाषाको समेत प्रयोग गरिएको छ। ट्रेलर हेर्दा दक्षिण भारतीय चलचित्रको प्रभाव प्रस्ट देखिन्छ। एक्सनको शैलीदेखि दृश्य प्रस्तुतिसम्म त्यसको झल्को देख्न सकिन्छ।
‘आचार्य’को छायांकन नेपालका विभिन्न स्थानसँगै भारतमा समेत गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रको केही काम अझै बाँकी रहेको निर्देशक तथा अभिनेता निखिलले बताए।
चलचित्र निर्माणका क्रममा आफूले निकै दुःख र चुनौती बेहोर्नुपरेको निखिलले बताए। निर्माण अवधिमा चलचित्रको लागत पटक–पटक परिवर्तन भएको उनको भनाइ छ। छायांकनका क्रममा पानी परेर कतिपय दिन आर्थिक क्षतिसमेत बेहोर्नुपरेको उनले बताए। यद्यपि उनले चलचित्रको कुल लागत भने खुलाउन चाहेनन्।
एक वर्षभन्दा बढी समय लगाएर निर्माण गरिएको ‘आचार्य’ले बलिउड चलचित्रलाई समेत टक्कर दिने निखिलको दाबी छ। चलचित्र नेपालसँगै भारतमा हिन्दी भाषामा समेत प्रदर्शन गर्ने तयारी गरिएको छ।
चलचित्रमा प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, भारतीय कलाकार दीपराज राना तथा नवअभिनेत्री पूर्णिका सिजापतीको मुख्य अभिनय रहेको छ।
‘आचार्य’मार्फत निखिल करिब एक दशकपछि पुनः रजतपटमा फर्किएका हुन्। चलचित्र असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: ३ आश्विन २०८३ १६:२७ शनिबार