कला/साहित्य

जब अमृतले भने- अब भोटले देशको भाग्य कोर्ने हो..

नेपाली लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार पोखरा रंगशालामा एक भव्य कन्सर्ट सम्पन्न गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको स्थानीय टोली ‘पोखरा एभेन्जर्स’ सँगको सहकार्यमा आयोजित कार्यक्रममा हजारौं दर्शकको उपस्थितिमा खेलकुद र संगीतको अनुपम संगम देखियो।

नेपथ्यको गृहनगर पोखरामा आयोजित कन्सर्टमा दश हजारभन्दा बढी दर्शकको सहभागिता थियो। निर्धारित क्षेत्र भरिभराउ हुँदा टिकट नपाएका सयौँ संगीतप्रेमी रंगशालाबाहिरै निराश देखिन्थे।

‘छोरालाई लिएर पर्वतदेखि आइपुगेको थिएँ, टिकट सकिइसकेको रहेछ,’ राजन गुरुङ भनिरहेका थिए, ‘आयोजकले थप सय टिकट जारी गर्छौं भनेकाले पर्खेर बसेका छौं।’ कुराकानीकै क्रममा राजनले आफूजस्तै टिकट पर्खेर बसेका लमजुङका दर्शक पनि देखाए।

कार्यक्रम सुरुदेखि अन्त्यसम्मै उत्सवमय बनेको थियो। दर्शकले नेपथ्यका हरेक धुनमा आफूलाई समाहित गराएका थिए।

भित्र मैदानमा समयमै बेलुकी ६ बजे कन्सर्ट सुरु भयो। ब्यान्डले पहिलो सौगात स्वरूप ‘हो रामा रामा’ गीत प्रस्तुत गर्‍यो।

कन्सर्ट अवधिभर ब्यान्डका मुख्य गायक अमृत गुरुङले सहरसँग जोडिएका रैथाने अनुभव सुनाए।

पोखरेली क्रिकेट टोली र समग्र खेलकुद क्षेत्रकै पक्षमा उनले प्रकट गरेका विचारलाई दर्शकले अत्यन्तै मन पराएको देखिन्थ्यो। गीत सङ्कलनको अनुभव, नेपाली भाषा र संस्कृतिको जगेर्ना अनि नेपालीपनको विशेषताबारे उनले व्यक्त गरेका धारणालाई पनि दर्शकले स्वागत गरेका थिए ।

उनले गीतको बीचबीचमा पोखरासँगको आफ्नो सम्बन्ध, नेपाली भाषा-संस्कृति र खेलकुदको महत्वबारे बोलेका थिए।

विशेषगरी उनले युवा पुस्तालाई सचेत रहन र आगामी चुनावमा आफ्नो मताधिकार प्रयोग गरेर देशको भविष्य कोर्न आग्रह गर्दा दर्शकले तालीले स्वागत गरेका थिए।

‘परिवर्तनका लागि पृष्ठभूमि तयार भइसकेपछि अब संयमित भएर अगाडिको बाटो तय गर्न म सबैलाई अनुरोध गर्छु,’ उनले नयाँ पुस्तालाई भने, ‘मतदाता नामावालीमा नाम लेखाउनलाई नछुटाउन अनि आगामी चुनावमा अत्यधिक सहभागितासाथ मुलुकको भाग्यरेखा कोर्न म सबैलाई आग्रह गर्छु ।’

उनका ‘आँगनैभरि’ देखि ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतमा दर्शक झुमेका थिए।

कन्सर्टमा कलाकारिता र साहित्य क्षेत्रका परिचित अनुहारहरूको पनि उपस्थिति थियो। हास्य कलाकार जितु नेपाल सपरिवार कन्सर्टमा रमाउँदै गरेको देखिन्थे भने कलाकार सन्दीप क्षेत्री र लेखक कुमार नगरकोटी पनि दर्शकदीर्घामा थिए।

जेन-जी आन्दोलनपछि केही हदसम्म सुस्ताएको सांगीतिक माहोललाई यो कन्सर्टले नयाँ ऊर्जा दिएको र यो आफैँमा एक मानक बनेको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।

कन्सर्टमा गायक गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।

पोखरामा भव्य प्रस्तुति दिएपछि नेपथ्य अब जापानको सांगीतिक यात्रामा निस्कने तयारीमा छ। ब्यान्डले जापानका टोकियोलगायत तीन प्रमुख सहरमा कन्सर्ट गर्नेछ।

प्रकाशित: २२ कार्तिक २०८२ २०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App